
गढवा,१५ पुष । “बालबालिकाको शिक्षामा सानो सहयोगले पनि ठूलो सपना निर्माण गर्न सकिन्छ” भन्ने सन्देशलाई मूर्तरूप दिँदै राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको छ।
आर्थिक अभावका कारण अध्ययन सामग्री जुटाउन कठिनाइ भोग्ने विद्यार्थीहरूलाई सहयोग स्वरूप ५२ हजार २५० रुपैयाँ बराबरका कापी कलम लगायतका शिक्षण सामग्री प्रदान गरिएको हो।
बुवा टीका मल्ल र आमा नूतन सिंह ठकुरीको आर्थिक सहयोगमा उहांकी छोरी प्रिस्का मल्लको शुभ जन्मदिनलाई अवसर पारेर वितरण गरिएको उक्त सामग्री सामाजिक उत्तरदायित्व र मूल्यवान् संस्कारको अनुकरणीय उदाहरण बनेको छ।
जन्मदिनलाई केवल केक र मनोरञ्जनमा सीमित नगरी समाजका बालबालिकाको उज्ज्वल भविष्यमा लगानी गर्ने माध्यम बनाइ दिनु स्वयं प्रेरणादायी मानिएको छ।
शिशु कक्षादेखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, पेन्सिल, इरेजरलगायत आवश्यक स्टेशनरी सामाग्री प्रदान गरिएको हो।
हाल बुवा टीका मल्ल वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा कार्यरत छन्। देशदेखि टाढा रहे पनि जन्मभूमि र विद्यालय प्रतिको माया र जिम्मेवारी उहिले गरेको सहयोगबाट स्पष्ट देखिएको छ।
कार्यक्रममा राजपुर गाउँपालिकाका शिक्षा प्रमुख बासु खनाल, वडा नं. १ का वडा अध्यक्ष सूर्य चौधरी, विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाही तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले “शिक्षामा लगानी गर्नु नै सबैभन्दा ठूलो लगानी हो” भन्दै यस्ता मानवीय कार्यहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने धारणा व्यक्त राख्नु भयो।
शैक्षिक सामग्री हस्तान्तरण पश्चात विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले सहयोगी परिवारप्रति आभार व्यक्त गर्दै “यसले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै पढाइप्रति थप उत्साह जगाएको बताउनुभयो। विद्यार्थीहरूको अनुहारमा देखिएको खुशीले जन्मदिनको अवसरलाई सामाजिक योगदानको अविस्मरणीय क्षणमा रूपान्तरण गरेको सहभागीहरूले अनुभूत गरेको बताउनु भएको थियो।





