दाङको सेवक बन्न तयार छु’ : ईन्जिनियर, अनन्तराज घिमिरे

गणतन्त्र नेपाल समाचारदाता

१) सर्वप्रथम यँहालाई स्वागत छ ?

– यँहालाई र हजुरको सञ्चारमाध्यमलाई मेरो महत्वपूर्ण कुराहरु राख्ने अवशर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यबाद तथा आभार प्रकट गर्न चाहन्छु ।

२) जेन्जी आन्दोलन किन र कसरी सुरु भयो भन्ने तपाईंको बुझाइ के हो र यसलाई जनआवाजको रूपमा लिनुहुन्छ ?

– जेन्जी आन्दोलन कुनै एक दिनमा आकस्मिक रूपमा सुरु भएको आन्दोलन होइन । यो लामो समयदेखि संचित असन्तुष्टि, उपेक्षा र राज्यप्रतिको अविश्वासको परिणाम हो । रोजगारीको अभाव, महँगी, सामाजिक अन्याय, अवसरमा पहुँच नहुनु, युवाहरूको भविष्यप्रतिको अन्योल तथा राज्य संयन्त्रप्रति बढ्दो निराशाले यो आन्दोलनलाई जन्म दिएको हो । यो आन्दोलन सामाजिक सञ्जाल, युवाहरूको स्वतःस्फूर्त सहभागिता र गैर–परम्परागत नेतृत्वबाट अघि बढ्नु यसको विशेषता हो । यसले देखाउँछ कि अब जनताले परम्परागत दल र नेताहरूबाट मात्र समाधान खोज्ने धैर्य गुमाइसकेका छन् । त्यसैले म जेन्जी आन्दोलनलाई केवल भावनात्मक उभार होइन, राज्य प्रणालीप्रति प्रश्न गर्ने वास्तविक जनआवाजको रूपमा लिन्छु । यद्यपि आन्दोलनका मागहरू स्पष्ट र दीर्घकालीन समाधानमुखी हुन आवश्यक छ । जनआवाजलाई सही दिशामा रूपान्तरण गर्न राज्य र राजनीतिक दलहरूको गम्भीर भूमिका अपरिहार्य छ ।

३) जेन्जी आन्दोलन पछिको परिस्थितिलाई

दाङले अबसरको रुपमा लिने कि चुनौती ?

– जेन्जी आन्दोलनलाई दाङले एकदमै अवसरको रुपमा प्रयोग गर्न आवश्यक छ । जुन जेन्जी विद्रोह भयो आन्दोलन भयो त्यसलाई दाङले अवसरको रुपमा लिएर दाङ विकासको एउटा आधार तय गर्नु पर्छ । त्यो भनेको केहो भन्नुहुन्छ भने बुटवल, भैरहवा र नेपालगन्ज भन्दा दाङ जिल्ला धेरै पिछडिएको छ । त्यसलाई हामी दंगाली जेन्जी र अन्य सबै राजनीतिक दल तथा समाजसेविहरु लगायत सम्पुर्ण दंगाली जनताहरुले एउटा अवसरको रुपमा लिएर दाङ विकासको आधार बनाएर अगाडि बढ्न आवश्यक छ । घोराही, तुलसीपुर लगायत जिल्लाको मुख्य बजारमा जे घटना घट्यो ति सबै नकारात्मक पाटाहरु हुन । नकारात्मक कुराहरुलाई हामीले कानुनि हिसावले छानविनको दायरामा ल्याउनै पर्छ तर दाङ बिकासको आधार तय गर्नलाई हामिले अवसरको रुपमा अगाडि बढाउन पर्छ ।

४) दाङ विकासमा किन पिछडिएको होला ?

– दाङ पञ्चायतकालमा बुटवल , भैरहवा र नेपालगंज भन्दा धेरै अगाडि थियो । अहिले बुटवल , भैरहवा र नेपालगंज धेरै अगाडि पुगिसक्यो दाङ धेरै पछाडि छ ।

यसको मुल कारण भनेको दंगाली नेताहरुले दाङलाई कसरी विकास गर्ने भन्ने कुराको मेसोनै पाउनुभएन उँहाहरुसंग यसको भिजन भएन । चाहानुभएन भनेर भन्ने हो भने उँहाहरु माथि अन्याय हुन्छ है त्यस कारण हाम्रा आदरणिय नेताहरुले कसरी बिकास गर्ने भन्ने कुराको आधारनै पाउनुभएन । मुल कारण भनेको नेतृत्वमा नै योजना नहुनुहो ।

५) दाङ बिकास नहुनुमा हामी दङाली जनता कति जिम्मेवार छौ?

– हजुरले अत्यन्तै महत्वपुर्ण प्रश्न गर्नुभयो । दाङ बिकास नहुनुमा नेता ज्यु भन्दा पनि अझ बढि जिम्मेवार हामि दंगालिहरु छौ । हामि दंगालीहरुको एउटा मानसिकता के भयो भने एउटा तुलसिपुर दंगाली छौ एउटा घोराही दंगाली छौ र एउटा देउखुरी दंगालीहरु छौ के यो ३ वटा क्षेत्र जवसम्म एक ढिक्का हुन सक्दैन नि तवसम्म दाङको बिकास गर्न गाह्रो हुन्छ । त्यसो भाको हुनाले पहिले जनता एक ढिक्का हुनुप¥यो त्यसपछि मात्र हामिले दाङलाई स्पष्ट रुपमा विकास गर्न सक्छौ ।

६) दाङ बिकासका मुल आधार के के छ तपाई संग ?

–म एउटा इन्जिनियर भएको हिसावले र लुम्बिनी प्रदेशको मास्टर्ड प्लान पनि मैले बनाएको हो र मलाई यसले योजनाको विषयमा मलाई केहि ज्ञान छ । त्यसैले मैले यस पत्रिका मार्फत दाङ विकासको आधारहरु मुख्य ५ वटा बुदामा स्पष्ट पार्न चाहन्छु । पहिलो बुदा लुम्बिनी प्रदेशको राजधानी पनि भएको हिसावले र यो क्षेत्रीय र भेगिए हिसावले दाङ तुलसीपुरको बिमानस्थल जसको स्तरउन्नति गरेर दैनिक ७२ सिटे बिमान अवतरण हुने ब्यबस्था मिलाउनुपर्छ । जसको कारण दाङमा आर्थिक , स्वास्थ्य , शैक्षिक , पर्यटन लगायत हरेक क्षेत्रलाई विकास गर्न मद्धत गर्छ । दोस्रो बुदामा दाङको जुन सडक छ भालुबाङ देखि तुलसीपुर सम्मको सडक पुर्ण रुपमा ब्यबस्थित हुनुपर्छ । अहिले जुन सडक छ यसले दंगाली जनताले कति सास्ति खेप्न परेको छ त्यो कुरा छर्लङग छ । हुनत अहिले घोराही तुलसीपुर सडक ४ लेन बन्नको लागि टेन्डर त भएको छ कहिले सम्म निर्माण सम्पन्न हुन्छ त्यो पछि थाहा होला । त्यसैले माथि उल्लेख गरीएको सडक पुर्ण रुपमा ब्यबस्थित हुनुप¥यो । त्येस्रो बुदामा दाङका अस्पतालहरु अत्यन्तै कमजोर अबस्थामा छन । अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाई हुदै छ त्यो पनि क्षेमता अत्यन्तै कमजोर छ । त्यो भएर हाम्रो अस्पतालहरु तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल, घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीको ट्रमा सेन्टर यसलाई दक्ष जनशक्ति जस्तै बिशेषज्ञ डाक्टर र आधुनिक उपकरण सहित विद्यार्थीहरुको हिसावले सक्षम बनाउनु प¥यो । दाङका सरकारी विद्यालयहरुलाई अत्यन्तै गुणस्तरीय बनाउनुपर्छ । राज्यको ढुकुटीबाट पैसा खर्च भइरहेको छ तर त्यँहा गुणस्तर छैन किन भन्दा त्यँहा राजनीतिक खिचातानि भएका छ ।

चौथो बुदामा दाङको दिर्घकालिन सिचाई । दाङ एशीयाको सबैभन्दा ठूलो उपत्यका हो र एउटै जिल्लामा २ वटा उपत्यका भएको पनि दाङ हो । यो २ वटा यति ठुलो उपत्यकामा प्रयाप्त र दीर्घकालिन सिँचाइको योजना ल्याइयो भने दंगाली जनतालाई आत्मनिर्भर बनाउने गरी कृषि उत्पादन गर्न सकिन्छ । र अन्तिममा दाङमा दश वटै पालिकामा १÷१ वटा कम्तिमा पनि २÷२ हजारलाई रोजगारी दिन सक्ने स्वारोजगार उद्योग स्थापना गर्नुपर्छ । त्यसको स्पष्ट उपाए र योजना मसंग छ । त्यसमा हामी सहकार्य गर्न सक्छौ यो बुदाहरुमा काम गर्न सक्यौ भने दाङका विकासको मुल आधार तय हुन्छ । नहर , कुलो सामान्य पुल भनेका सामान्य बिकासका काम हुन । शिक्षा , स्वास्थ्य , रोजगार र यातायात भनेका पनि आधारभुत आवश्यकताका कुराहरु हुन र अन्तिममा दाङलाई धार्मिक पर्यटन स्वर्गद्धारी मन्दिरसंग जोड्न यतातिर हजुरको धारपनि मन्दिर र चौघेर मन्दिरसंग जोडेर एउटा धार्मिक पर्यटनको पनि बिकास गर्न सक्छौ ।

७) जेन्जी आन्दोलनलाई कतिपयले बाह्य स्वार्थसँग जोडेर हेरेका छन्, यसमा तपाईंको धारणा के छ ?

–हो धेरैले जेन्जी आन्दोलन बाहिरी शक्तिबाट परिचालित भयो भन्ने गरेका छन । तर यो घटनाक्रम किन र कसरी भयो भन्ने मुख्य कुरा हो । तत्कालिन प्रधानमन्त्रिले सामाजिक संजालहरुमा लगाएको प्रतिबन्धका कारण अहिलेका युवाहरु जो सामाजिक संजालसंग प्रतक्ष्य जोडिएका छन तिनिहरुमा आक्रोस थापिएको हो । त्यो आक्रोस धेरै जनताहरुसंग थियो र उनिहरुलाई यो अनुभव भयो र यो विद्रोह अगाडि बढेको हो । अब हामी आफ्नो जनतालाई खुसि राख्न नसक्नु हाम्रो कमजोरी हो कि बिदेशिहरुको हो ? यो गम्भिर प्रश्न चिन्ह खडा भएको छ । त्यसो भएको हुदा आक्षप जसलाई लगाएपनि तपाइले आफ्नो घरको मुल कुरा तपाइले परीवारलाई समाल्न सक्नुपर्छ । प्रधानमन्त्रि र राष्ट्रपति भइसकेपछि आफ्ना जनता खुसि छन कि छैनन् भन्ने कुराको मुल्या«्कन गर्नुपर्छ जस्तो मलाई लाग्छ । दुइ तिहाइको सरकारले गएर सामाजिक संजाल प्रतिबन्ध लगाउने त्यो त गलत भएको हो नि त ।

८) फागुन २१ को निर्वाचनमा तपाई उम्मेदवार हो ?

–फाल्गुन २१ को निर्वाचनमा म उम्मेद्धार हुने अहिले सम्म मेरो इच्छ्या छैन । तर दाङको ३ वटै निर्वाचन क्षेत्रबाट युवा र दाङलाई विकास गर्न सक्ने योजना भएको युवालाई समर्थन गर्ने मेरो भित्रि इच्छा छ । म एउटा सामाजिक र राजनितिक ब्यक्ति हो र एउटा इन्जिनियर पनि हो । त्यो हिसावले दाङबाट स्पष्ट दाङलाई विकास गर्ने दाङलाई माया गर्ने र विकासको योजनाको खाका भएको ब्यक्तिलाई हामिले अहिले सदनमा पु¥याउनुपर्छ भन्ने हो । यसमा म सम्पुर्ण जनतालाई आग्रह र अनुरोध गर्न चाहान्छु ।

९) बालेन र रबि को एकता लाई कसरी हेर्नू भएको छ ?

–बालेन र रविको एकता अनिवार्य थियो र उनिहरु मिल्नै पर्छ किनभने नेपाली जनताले बैकल्पिम शक्तिहरु एक ठाँउमा आइदिए हुथ्यो भन्ने आस गरेका छन । कांग्रेस , एमाले, माओबादि भनेको एकदमै अनुभवि, ठूला र पुराना दलहरु हुनुहुन्छ उँहाहरु संस्थागत हुनुभएको छ र हुन आवश्यक छ । तर उँहाहरु सच्चिन आवश्यक छ के त्यो सच्चिनको लागि उँहाहरुलाई पालो दिने कुनै दल त चाहियो नि । त्यो बैकल्पिक शक्ति एउटै बनिदिए हुथ्यो भन्ने नेपाली जनताको र दंगाली जनताहरुको पनि एउटा अपेक्षा हो । त्यसो भाको हुनाले यो कुराले देशलाई सकारात्मक दिशामा लैजान्छ भन्ने मेरो बुझाई छ । त्यसकारण यो एकदमै सहयोगि छ र एकत्व हुनुपर्छ । अव भनेको चुनाव पुराना दलहरु र नँया दलहरुको बीचमा हुने चुनाव हो ।

१०) अन्त्यमा मैले सोध्न छुटाएको र हजुरलाई भन्ने मन लागेको केही छ भने दंगाली जनताहरुलाई भनिदिनुहोस ?

–अन्त्यमा मेरो कुरा के हो भने हामी दंगालीहरु एकजुट हौ देउखुरी दंगाली घोराही र तुलसीपुर दंगाली नभई सम्पुर्ण दंगाली एक हौ । पहिलो आधार दाङ विकास हो । दोस्रो आधार भनेको हामिले योजना भएको युवालाई दाङबाट जिताएर पठाँउ र तेस्रो विषय मैले अन्त्यमा भन्नुपर्ने म दाङको अहिलेको उम्मेद्धार होइन आजको मितिसम्म तर यदि योग्य उम्मेद्धार कोहि पनि देखिएन भने दाङको नेतृत्व लिन म तयार छु र सक्षम पनि छु योग्य पनि छु । मेरो बुझाई त्यो हो तर सम्पुर्ण दंगाली जनताको विश्वास अथवा सबैले एउटा ढंगले हो अनन्त जि तपाई अगाडि बढ्नुस भन्नुभयो भने मात्रै म तयार छु ।हैन भने मलाई संसाद बन्ने माननिय बन्ने कुनै लोभ छैन । यदि कोहि पनि दाङको नेतृत्व लिन अभिभावकत्व लिन तयार हुन्न भने म तयार छु त्यसको लागि मलाई दंगाली जनताको साथ चाहिन्छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID