पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन

प्रिया स्मृति गजमेर

दाङ – नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले पार्टीको पन्ध्रौँ महाधिवेशनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संस्थापन पक्षले आज शुक्रबार लमहीमा आयोजना गरेको प्रदेश स्तरिय कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले वडादेखि केन्द्र सम्म सर्वसम्मत रुपमा प्रतिनिधि छनौट हुने गरेर महाधिवेसनको तयारीमा लाग्न आग्रह गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले जेनजी आन्दोलनका नाममा भएका गतिविधिलाई लिएर पार्टीभित्र केही व्यक्तिहरूले विभाजनतर्फ लैजाने षडयन्त्र गरेको आरोप लगाएका छन । उनले आन्दोलनका क्रममा अराजक समूहबाट कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणप्रति सहानुभूति नदेखाई उल्टै हस्ताक्षर संकलन गर्दै देश दौडाहा गर्नु गलत संकेत भएको बताए ।

राठौरका अनुसार नेताले कार्यकर्तालाई न्याय दिन नसके कार्यकर्ताको भरोसा र मनोबल दुवै गुम्ने भएकाले नेतृत्वले कार्यकर्ताप्रति माया र जिम्मेवारीबोध राख्न आवश्यक छ । पार्टीले प्रभावकारी प्रशिक्षण नदिनु पनि कार्यकर्तामा नकारात्मक सोच बढ्नुका कारण भएको उनको भनाइ थियो ।

“बुढापाकाले धानेको पार्टी हो, गुट उपगुट हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ,” राठौरले भने, “तर गुटको नाममा विभाजनको भूमिका खेल्नु अस्वीकार्य छ ।” उनले जेनजीको नाममा पार्टीभित्र विवाद सिर्जना गर्नु गैरजिम्मेवार कदम भएको बताए ।

राणाशासन र पञ्चायत दुवै हटाउन सफल भएको कांग्रेसलाई विचलित हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै राठौरले भने, “राजनीतिमा व्यक्तिले होइन, विचार र इमानदारीले नेतृत्वको पहिचान तय गर्छ।” कांग्रेसले शान्ति र विकासका काम गरे पनि सुशासन र भ्रष्टाचार नियन्त्रणमा कमजोरी रहेको कुरालाई पार्टीले आत्मसात् गर्नुपर्ने उनको धारणा थियो ।

यसैबीच, कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले भदौ २३ र २४ गतेको जनजी आन्दोलनका नाममा अराजक समूहले नेपालमा घुसपैठ गरेको दाबी गरे। भू–राजनीतिक असन्तुलन बुझ्न नसक्दा देश अस्थिर बिद्रोहको शिकार बन्न पुगेको उनले बताए ।

उनका अनुसार गठबन्धन सरकारको नेतृत्वमा रहेका बेला आन्दोलन सुरु हुँदा कांग्रेसलाई गठबन्धन बचाउने दायित्व थियो । “गठबन्धन नतोड्नु अपराध हो र ?” भन्दै उनले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अराजक क्रियाकलापको समर्थन कहिल्यै नगर्ने बताए ।

लमहीमा सम्पन्न संस्थापन (देउवा) पक्षको भेला आगामी पन्ध्रौं महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपनाउने रणनीतिसम्बन्धी छलफलमुखी भएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालको अध्यक्षता र केन्द्रीय सहमहामन्त्री किशोर सिंह राठौरको प्रमुख आतिथ्यता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

भेलामा केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रुपा विक, गुरु बराल, पूर्व राज्यमन्त्री देवेन्द्रराज कंडेल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसहित रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, रोल्पा, प्युठान, रुकुम पूर्व, बाँके र बर्दिया जिल्लाका नेताहरूले आफ्नो धारणा राखेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID