
दाङ, मंसिर २१।मंसिर २० गते लमहीस्थित जुनतारा सुनचाँदी पसलमा भएको गोलीकाण्ड घटनाप्रति देउखुरी उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण गराएको छ। घटनाले दाङ जिल्लाभरिका सुनचाँदी व्यवसायीहरू त्रसित बनेका छन् भने सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको संघले जनाएको छ।
आज मंसिर २१ गते बिहान १० बजे देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षतामा आपतकालीन बैठक बसेको थियो। बैठकमा दाङ जिल्लामा सुनचाँदी व्यवसाय गर्दै आएका व्यवसायी तथा नेपाल सुनचाँदी व्यवसाय महासंघ लमही, महासंघ दाङ र महासंघ लुम्बिनी प्रदेशका पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले सुरक्षा चुनौती र पछिल्ला आपराधिक गतिविधिहरूबारे विस्तृत छलफल गरेको संघले जनाएको छ।
छलफलपछि प्रतिनिधिमण्डलले वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशन राज पाण्डेसँग भेटघाट गरी घटनाको अनुसन्धान प्रगतिबारे जानकारी लिएको छ। व्यवसायीहरूले घटना छिटोगरी खुलासा गरी दोषीलाई सार्वजनिक गर्दै कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन्।
यसबाहेक, दाङका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै देउखुरी उद्योग वाणिज्य संघले दाङमा यस्ता प्रकारका आपराधिक घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गठन गर्न आग्रह गरेको छ। व्यवसायीहरूको हक–हित, आर्थिक गतिविधिको संरक्षण तथा व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राख्न प्रशासनले तुरुन्त कदम चाल्नुपर्ने संघको माग छ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले गोलीकाण्डले व्यवसायीमा भयको वातावरण सिर्जना गराएको उल्लेख गर्दै, “सरकार र प्रशासनले अपराध नियन्त्रणमा कडाइ नगरेसम्म व्यवसाय सुरक्षित रहँदैन” भन्दै त्वरित र प्रभावकारी कार्रवाईको माग गर्नुभयो।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





