गढवा गाउँपालिकामा पुनरुत्पादनशील कृषि : कम लगानीमा उच्च उत्पादन

पुष्पा पौडेल

गढवा, २१ मंसिर। गढवा गाउँपालिका वडा नम्बर ५ का कोशेली उद्दमी महिला समूहका दिदीबहिनीहरू आईतबार बिहानैदेखि काउलीका बिरुवा सार्ने काममा व्यस्त देखिए। पुनरुत्पादनशील कृषि परियोजनाअन्तर्गत प्राप्त प्रशिक्षण तथा प्राविधिक मार्गदर्शनले उनीहरूको खेतीपाती गर्ने तरिका नै बदलिएको समूहका सदस्यहरूको भनाइ छ।

पहिला परम्परागत विधिबाट खेती गर्दा लागत धेरै, श्रम बढी र उत्पादन कम हुने गरेको गुनासो रहने महिलाहरू अहिले भने कम लगानीमै उच्च तथा गुणस्तरीय तरकारी उत्पादन गर्न सक्षम बन्दै आएका छन्।

समूहकी अगुवा कृषक फिर्ती चौधरीका अनुसार गढवा गाउँपालिका द्वारा सञ्चालित परियोजनाले सिकाएको माटो व्यवस्थापन, जैविक मल–जलको वैज्ञानिक उपयोग, जैविक कीटनाशक र कम्पोस्ट बनाउने प्रविधि अत्यन्त प्रभावकारी भएको छ।

“यो विधिबाट माटो स्वस्थ रहन्छ, बोटबिरुवाको विकास राम्रो हुन्छ र खर्च पनि धेरै घट्छ,” चौधरीले बताइन्। उनीहरूका अनुसार माटोको जीवनक्षमता जोगाएर खेती गर्दा रोग–कीराको आक्रमण समेत उल्लेख्य रूपमा घटेको अनुभव गरिएको छ।

महिला समूहले सामूहिक तरकारी उत्पादनमा जोड दिएपछि स्थानीय बजारमा काउली, बन्दा, काँक्रो, सागसब्जी लगायतका उत्पादनले राम्रो मूल्य पाइरहेका छन्। वातावरणमैत्री खेतीका कारण समुदायमा पुनरुत्पादनशील कृषिप्रतिको रुचि पनि बढेको स्थानीयहरू बताउँछन्।

गढवा गाउँपालिकाले महिलालाई आर्थिक रूपमा सबल बनाउन, आय आर्जन बढाउन तथा दिगो कृषि प्रणाली विकास गर्ने उद्देश्यसहित सञ्चालन गरेको पुनरुत्पादनशील कृषि परियोजना स्थानीय तहमा प्रभावकारी बन्दै गएको छ। महिला समूहको उत्साह, मेहनत र सामूहिक प्रयासले गाउँमा हरियालीसँगै आत्मनिर्भरता र आत्मविश्वासको वातावरण पनि बढ्दै गएको देखिन्छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID