
गढवा, २० भदौ। गढवा गाउँपालिका, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्था बीच साझेदारीमा अति विपन्न, असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने सम्झौता अनुसार शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाकी जिबि बिकको घरको सिलान्यास भएको छ।
गढवा गाउँपालिकामा यस कार्यक्रम अन्तर्गत ४ वटा घर निर्माण हुने २०८२ भदौ ५ गते गढवा गाउँपालिकामा त्रिपक्षिय सम्झौता भएको थियो। यस अन्तर्गत गढवा गाउँपालिकाभित्र विभिन्न वडामा घर निर्माण गरिनेछ।

सम्झौताअनुसार गढवा गाउँपालिकामा सन २०२६ डिसेम्बर भित्र चारवटा घर निर्माण सम्पन्न गरिनेछ। ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको परियोजना अन्तर्गत ४ लाख २५ हजार रुपैयाँ, गढवा गाउँपालिकाको कार्यालयबाट २ लाख बराबरको सामग्री सहयोग, र घरमुलीको जनश्रमदान गरी ६ लाख ७८ हजार बराबरको लागतमा “एल आकारको घर” निर्माण गरिने केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो। त्यसैगरी, परियोजनामार्फत गढवा गाउँपालिकाभित्रका १ सय ३० परिवारलाई लालपुर्जा प्राप्तिका लागि आवश्यक प्रक्रियाबारे साक्षरता अभिमुखी कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ।
घर निर्माण हुन लागेकी प्रमिला चौधरी एकल महिला हुनुहुन्छ। छोरीको पढाइ खर्च जुटाउन उहाँ मजदुरी गर्दै आउनुभएको छ। मजदुरीबाहेक अन्य आयस्रोत नभएकोले यो घर निर्माणले आफ्नो जीवनमा ठूलो राहत हुने उहाँले बताउनुभयो। यस्तै, गढवा गाउँपालिका वडा नं. ५ कक्रहवाकी जि.वि. बिकको पनि आवास निर्माण हुने भएको छ। माइतीले दिएको एलानी जमिनमा झुप्रो घरमा बस्दै आउनुभएकी बिकले अहिलेसम्म लालपुर्जा प्राप्त गर्न नसकेको बताउनुभयो। वर्षातको समयमा पानी चुहिएर रातभर सुत्न नसक्ने र सर्प लगायतको डर हुने गरेको उहाँले दुःखेसो पोख्नुभयो।

सिलान्यास कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले “गाउँपालिकामा विपन्न, असहाय र एकल महिलाहरूका लागि सुरक्षित आवास निर्माण गर्नु हाम्रो पहिलो प्राथमिकता भएको बताउनुभयो। घर भनेको केवल बस्ने ठाउँ मात्र होइन, यो सम्मान, सुरक्षाको अनुभूति र उज्यालो भविष्यको आधार हो। सुरक्षित आवासले आमाबाबुको सपना पूरा गर्न सन्तानलाई सहज वातावरण दिन्छ, महिलालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउँछ, र समाजलाई समावेशी र न्यायपूर्ण बनाउन मद्दत पुर्याउँछ। गढवा गाउँपालिका कुनै पनि नागरिक आश्रयविहीन नहोस् भन्ने लक्ष्यसहित अगाडि बढिरहेको छ पालिका अध्यक्ष पोख्रेलले भन्नु भयो। यो अभियानले विपन्न वर्गलाई मात्र होइन, सम्पूर्ण गाउँपालिकामा समावेशी विकास र सामाजिक न्यायको आधार बलियो बनाउनेछ।”
सिलान्यास कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसमानी चौधरी, गाउँपालिका गाउँपालिका वडा नम्बर ५का वडाध्यक्ष लेख बहादुर थापा, कार्यक्रम संयोजक पार्वती बस्नेत, टोल बिकास सस्थाका अध्यक्ष मालती आचार्य, स्थानीयहरुको उपस्थितिमा घरको सिलान्यास गरिएको छ।़




