गढवा, २ श्रावण। लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष दाङ जिल्ला समितिको आयोजनामा शुक्रबार गढवा बजारमा रहेका विभिन्न लघुवित्त संस्थाहरूमा भेटघाट र छलफलका लागि पुगेका लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिले ब्यानर तोडफोड गरेका छन्।
संघर्ष समितिका अनुसार, लघुवित्तमा जम्मा गरिएको बचत रकम ऋण चुक्ता गरेपछि पनि बचत फिर्ता पाउन नसकिएको गुनासो गर्दै सङ्घर्ष समिति/ बचतकर्ताहरु आक्रोशित बनेका हुन्। लघुवित्त बैंककर्मीहरूले समूहमा रहेका सम्पूर्ण सदस्यहरूले कर्जाचुक्ता नगरेसम्म अन्य सदस्यहरुको समेत बचत रकम फिर्ता गर्न नसक्ने नीति भएको बताएका छन्।
संघर्ष समितिले जानकारी दिएअनुसार भेटघाट तथा छलफलका लागि गएका टोलीलाई कुनै पनि लघुवित्त संस्थाले सकारात्मक प्रतिक्रिया नदिएको र धेरै कार्यालयहरूमा ताला लगाइएको भेटिएको थियो। यसपछि सङ्घर्ष समिति/ बचतकर्ताहरु थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।
आफूले कर्जा चुक्ता गरिसक्दा पनि बचत रकम नपाएको भन्दै सङ्घर्ष समिति बचतकर्ताहरुले गढवाका विभिन्न लघुवित्त कार्यालयमा भेटघाटका नाममा प्रदर्शन गरेका थिए। तोडफोड हुनसक्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।