घाराही,२३ असार । प्रभु वैंक लिमिटेड घोराही शाखाले गणेश प्रावि सेवार बगालेलाई शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययन गनेै करिब ४८ जना बालबालिकालाई व्याग, कलम, कापी, इलेजर, कटहर सहयोग गरेको छ ।
वैंकका शाखा प्रवन्धक संगम पन्त, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, वैंकका कर्जा प्रवन्धकहरु प्रतिक रिजाल, एकराज रानासहितको टोलीले विद्यालयमा अध्ययन गर्ने ४८ जना विद्यार्थीको लागि ४८ वटा व्याग, ४८ दर्जन कापी, ४८ पकेट प्यान्सिल, सबैलाई इलेजर, कटहर वितरण गर्नु भएको हो ।
विद्यालयका प्रधानाध्यापक टिकाराम जिसी, विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागितामा वैंकले शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । सो अबसरमा बोल्दै वैंकका शाखा प्रवन्धक संगम पन्तले सामाजिक उत्तरदायित्व अन्तगर्त वैंकले अफ्ठेरो अवस्थामा रहेको विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका बताउनुभयो । भविष्यमा यस प्रकारका कार्यहरु गरिरहने उहाँले जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले प्रभु वैंकले घोराहीभित्रै रहेपनि विकटता महसुस गरिरहेको गणेश प्राविका सबै विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेर सराहनीय कार्य गरेकोमा प्रशंसा गर्नुभयो ।
सो अबसरमा विद्यालयका प्रअ टिकाराम जिसीले विद्यार्थीहरुको मनोबल उठाउने गरी शैक्षिक सामग्री सहयोग गरेकोमा वैंक परिवारलाई धन्यावाद दिनुभयो । घोराही उपमहानगरपालिकाको बाह्रकुने दह भन्दा केही माथि रोल्पा सडक खण्डमै पर्ने गणेश प्रावि २०४० सालमा स्थापना भएको हो । विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने उक्त विद्यालयमा एक जना सहयोगी सहित हाल ७ जना शिक्षक, कर्मचारीहरु हुनुहुन्छ ।
विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । धेरै पहिला बनेको एकतले टिनले छाएको भवनमा विद्यालयले शिक्षा प्रदान गरिरहेको छ । पहाडी भूभागमा रहेका कारण यहाँ टाढाटाढाबाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउँछन् ।