डगमरा प्रहरी पोस्टका लागि नयाँ भवन निर्माण शुरू, निरीक्षक बमबाट शिलान्यास

गढवा, २६ मंसिर। वर्षौँदेखि जिर्ण अवस्थामा रहेको झुपडीजस्तै अस्थायी संरचनाबाट जोखिम मोलेर शान्ति–सुरक्षा सेवा दिँदै आएको डगमरा प्रहरी पोस्ट अब आधुनिक र सुरक्षित भवनबाट सेवा–सुविधा प्रदान गर्ने हुने भएको छ।

राजपुर गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा राजपुर गाउँपालिका–७, डगमरास्थित प्रहरी पोस्टका लागि नयाँ भवन निर्माण कार्य प्रारम्भ भएको हो।

नयाँ भवन निर्माणको औपचारिक सुरुवात गढवा इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक डबल बहादुर बमले शिलान्यास गर्नु भएको छ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बोधन गर्दै निरीक्षक बमले जिर्ण र जोखिमपूर्ण संरचनामा बसेर सेवा दिनुपरेको अवस्थाको अन्त्य हुने बताउँदै नयाँ भवन निर्माण भएपछि अझ प्रभावकारी रूपमा अपराध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी र शान्ति–सुरक्षा प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीयवासीले लामो समयदेखि सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने भौतिक कमजोरी हटेर अब प्रहरी सेवा झनै सहज र भरपर्दो हुने अपेक्षा व्यक्त गरेका छन्।

राजपुर गाउँपालिकाले आफ्नो प्राथमिकतामा सुरक्षा संरचनालाई पनि महत्त्व दिँदै आएको भन्दै जनप्रतिनिधिहरूले नयाँ भवनले स्थानीय सुरक्षा स्थितिमा सकारात्मक परिवर्तन ल्याउने धारणा राख्नु भएको छ।

नयाँ भवन छिट्टै निर्माण सम्पन्न गरी सेवा–सुविधा उपलब्ध गराउने लक्ष्यासहित निर्माण कार्य अघि बढाइने प्रहरीले जनाएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *