गढवामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पुनर्ताजगी तालिम

गढवा, १६ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि ४ दिने पुनर्ताजगी तालिम सुरु भएको छ।

गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय जिल्ला स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा महिला स्वास्थ्य स्वयंसेविका हरुका लागि पुनर्ताजगी तालिम सुरु गरिएको हो।

गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरूका लागि आयोजित पुनर्ताजगी तालिमको उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका बरिष्ठ तथ्याङ्क अधिकृत मेघराज पौडेलले महिला स्वयंसेविका हरूको ज्ञान, सीप तथा कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्य पुनर्ताजगी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। तालिमका क्रममा मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी आधारभूत विषयहरूमा विशेष जोड, गर्भवती महिलाको नियमित जाँच, सुरक्षित सुत्केरी सेवा, नवजात शिशुको स्याहार तथा पोषण व्यवस्थापनका बारेमा सहभागीलाई पुनः अभिमुखीकरण गराइने जानकारी दिनुभयो।

स्वास्थ्य कार्यालय दाङका पव्लिक हेल्थ नर्सिङ निरिक्षक तथा तालिमका प्रशिक्षक रिता न्योपानेले चार दिने पुनर्ताजगी तालिममा स्वयमसेवीका हरुलाई खोप कार्यक्रमको महत्त्व, बालबालिकामा देखिने सामान्य रोगहरूको पहिचान तथा प्राथमिक उपचारबारे जानकारी दिइने बताउनुभयो ।तालिममा सरुवा रोगहरू जस्तै झाडापखाला, निमोनिया, क्षयरोग तथा डेंगु जस्ता रोगहरूको रोकथाम, पहिचान र सचेतना फैलाउने तरिकाबारे पनि प्रशिक्षण दिइने नर्सिङ निरिक्षक तथा तालिमका प्रशिक्षक न्योपानेले जानकारी दिनुभयो।

कार्यक्रममा प्रशिक्षक तथा गढवा गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक रोहित चौधरीले स्वास्थ्य सेवामा स्वयंसेविकाको भूमिकालाई अझ प्रभावकारी बनाउन व्यवहारिक अभ्यास र समूह छलफल मार्फत सिकाइलाई मजबुत बनाईने बताउनुभयो ।

गढवा गाउँपालिकामा हाल ८२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत रहनु भएको छ। पुनर्ताजगी तालिममा आठ वटै वडाबाट छनौट गरी २२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिन थालिएको गढवा गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका बरिष्ठ तथ्याङ्क अधिकृत मेघराज पौडेलको अध्यक्षतामा सुरु भएको तालिममा जिल्ला स्वास्थ्य कार्यालय दाङका पव्लिक हेल्थ नर्सिङ निरिक्षक रिता न्योपाने , स्वास्थ्य अधिकृत खिमा कुमारी भुषाल , गढवा गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक रोहित चौधरी , गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादव लगायतको सहभागिता रहेको थियो।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *