दाङको घोराही, लमही गढवामा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा

दशरथ घिमिरे

दाङ जिल्लामा एन्टी स्नेक भेनमको अभावले सर्पदंशका बिरामीको उपचारमा कठिनाइ सिर्जना गरेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल पनि भेनम समस्या समाधानका लागि सहयोगको प्रयास गरिरहेका छन्।
बरसातको मौसममा सर्पदंशका घटना बढेकाले तत्काल भेनम उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूले अपिल गरेका छन्।
दाङ- दाङ जिल्लामा एन्टी स्नेक भेनमको अभाव भएपछि सर्पदंशका बिरामीको उपचार प्रभावित भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल, गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएकाे छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौज्दात सकिन लागेको अवस्थामा पुगेपछि उपचारमा समस्या देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन् । तर, आवश्यक एन्टी स्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाइ भएको उनले बताए ।

प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उनले जानकारी दिए ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम पूर्ण रूपमा सकिएको बताए ।`हामीकहाँ भेनम सकियो । जिल्लाभर पनि अभाव रहेछ,´ उनले भने,`सरकारले छिट्टै भेनम उपलब्ध नगराए उपचार नपाएर बिरामीले ज्यान गुमाउने जोखिम बढ्न सक्छ ।´

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि भेनमको मौज्दात अत्यन्त न्यून रहेको छ । अस्पताल स्रोतका अनुसार अहिले रहेको भेनमबाट बढीमा एक वा दुई जना बिरामीको मात्रै उपचार गर्न सकिने अवस्था छ । प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ । देश सञ्चारबाट

वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेका बेला एन्टी स्नेक भेनम अभाव भएपछि स्वास्थ्यकर्मी र बिरामी दुवै चिन्तित बनेका छन् । स्वास्थ्य संस्थाले तत्काल पर्याप्त परिमाणमा भेनम उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID