बजेटप्रति प्रदेश १ का सांसदको आपत्ति

प्रदेश १ का सांसदहरूले उद्योग पर्यटन वन तथा वातावरणतर्फ गरिएको बजेट विनियोजनमा आपत्ति जनाएका छन्। विराटनगरस्थित प्रदेशसभामा आठौं तथा बजेट अधिवेशनको २०औं बैठकका क्रममा बिहीबार एमालेतर्फकी इलामकी सांसद खिनु लङवाले पर्यटन क्षेत्रका लागि प्रदेशको बजेट विभेदपूर्ण, पूर्वाग्रही र असमान रूपमा आएकामा आपत्ति जनाएकी छन्।

सदनको शून्यसमयमा बोल्दै उनले पटक–पटक मुख्यमन्त्री शेरधन राईले योजनाहरू झ्यालबाट नआउने दाबी गरे पनि त्यसो नभएको गुनासो गरिन्। उनले भनिन्, ‘मुख्यमन्त्रीले बजेटमा कार्यक्रम योजना ब्याक डोर वा झ्यालबाट नआउने बताए पनि यसपटक रेडबुकमा बेवारिसे हिसाबमा योजना परेको छ। जसका लागि वडा, स्थानीय तह कसैलाई जानकारी छैन। त्यो योजना कसरी पर्‍यो ? यो योजना सुनसरी मोरङमै राख्न मुख्यमन्त्रीलाई अनुरोध गर्न चाहन्छु ।’

उनको भनाइअनुसार प्रदेश सरकारले पर्यटनलाई पाखा लगाएको छ। बैठकमा बोल्दै सांसद लङवाले पर्यटकीय नगरी इलामलाई पूर्णरूपमा बन्चित गरेको आरोप लगाइन्। उनका अनुसार इलामका ४ निर्वाचन क्षेत्रमा एउटा १० लाख र बाँकी २० लाखका दरमा कूल ८ वटा योजनामात्र परेको छ।

त्यसैगरी, जनता समाजवादी पार्टीका दलका नेता जयराम यादवले विराटनगरस्थित विराट राजाको दरबारलाई उपेक्षा गरिएको बताए। पटक–पटक दरबारका लागि बजेट विनियोजनका लागि माग गरे पनि यसपटक १५ लाखको बजेट आएको उनले बताए।

नेता यादवले भने, ‘१५ लाख रूपैयाबाट कस्तो दरबारको निर्माण हुने हो हेर्न बाँकी छ। १५ लाखबाट कस्तो जादुको छडीबाट पूर्वाधार निर्माण हुनेछ। दरबारका लागि यो रकम हात्तीको मुखमा जिरासरह छ।’

‘मोर साई भेल कोवालका डर काहेका’ भनेझैँ सरकारमा सबैथोक आफ्नै भएपछि रजाइँ हुने गरेको उनले बताए। भारतसँगको करिब ६५ किमि खुला सीमातर्फ ३ वटा मात्र योजना परेको बताउँदै उनले मोरङको दक्षिणीवर्ती क्षेत्रलाई उपेक्षा गरिएको गुनासो गरे। उनले सरकारलाई उपलब्ध गराएको सो रकमसमेत प्रदेशमै फर्काउन आग्रह गरेका थिए। विराट दरबारका लागि महानगरसँगै प्रदेश सरकारले ठग्दै आएको उनले गुनासो गरे।

नेकपा माओवादी केन्द्रका सांसद मोहन खड्काले प्रदेश सरकार बजेटका नाममा चिल्लो सवारी खरिदमा लिप्त भएको बताए। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले असमान रूपमा बजेट वितरण गरेको बताउँदै सांसद खड्काले राज्यमन्त्रीदेखि मुख्यमन्त्रीको जिल्लासम्म बजेट राखिएपछि अन्यत्रतर्फ सरकारको ध्यान नपुगेको गुनासो गरे। ओखलढुंगाको बजेट कटौती गर्ने सरकारको घोषित कार्यक्रमजस्तो देखिएको उनले बताए।

बैठकमा प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति एवं एमालेका सांसद सर्वध्वज साँवा लिम्बूले बजेटका योजना नारामा मात्र सीमित नगर्न आग्रह गरे।

९ हजारको संख्यामा सीपमूलक तालिम दिएर नयाँ व्यवसाय थालनी गर्न सरकारको योजनालाई इंगित गर्दै सांसद लिम्बूले भने, सरकारलाई योजनाका लागि शुभकामना छ। कोरोना र लकडाउनले भएकै व्यवसाय धराशयी अवस्थामा पुगेको छ।

विगतको तीन वर्षदेखि नारामा मात्र योजना राखिए भोलिका दिनमा प्रश्न खडा हुनेछ। औद्योगिक प्रदर्शनी केन्द्र, कृषि तथा उद्योग मण्डी स्थापनाको सन्दर्भमा उनले प्रत्येक वर्ष यस विषयमा चर्चा हुने गरेको मण्डी कहाँ–कहाँ स्थापना भए भन्ने कुरामा सम्बन्धित निकायको विशेष निगरानी हुनुपर्ने बताए।

 

जसपाका दुवै समूहलाई निर्वाचन आयोगको आदेश : असार २२ गते उपस्थित हुनु

जनता समाजवादी पार्टी (जसपा) को विवादबारे मेलमिलापका लागि छलफल गर्न निर्वाचन आयोगले २२ असारमा दुवै समूहलाई बोलाएको छ । जसपाको संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह तथा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई आन्तरिक मेलमिलापका लागि २२ असारमा निर्वाचन आयोगमा बोलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

‘हामीले आन्तरिक मेलमिलापका लागि जसपाका दुवै पक्षका पाँच/पाँच जनालाई २२ असारमा आयोगको कार्यालयमा बोलाएका छौं,’ प्रमुख आयुक्त थपलियाले भनेका छन् । जसपाको यादव समूहले राजनीतिक दलसम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । निवेदनपछि आयोगले ठाकुर समूहलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । आयोगले माग गरेको जवाफ ठाकुर समूहले ८ दिनमै दिएपछि कानुनी व्यवस्था अनुसार मेलमिलापका लागि आयोगमा बोलाइएको हो ।

थपलियाका अनुसार त्यसदिन दुवै समूहबीच मेलमिलाप भएन भने इजलास गठन गरेर न्यायिक निरुपण गर्ने तयारीमा आयोग छ । ‘त्यसदिन मेलमिलाप गर्छौ भनेको खण्डमा एक साताको समय दिएर मिल्न भन्छौं । नगर्ने भएमा हामीले एक साताकै समय दिएर इजलास गठन गरी दुवै समूहलाई कानुन व्यवसायी दिन भनेर विवादको निरुपण गछौं,’ प्रमुख आयुक्त थपलियाले भने ।

सत्ता समीकरणका विषयमा देखिएको विवाद जसपामा चरमोत्कर्षमा पुगेको छ । ठाकुर समूह सरकारको पक्षमा छ भने यादव समूह विपक्षी गठबन्धनको पक्षमा । दुवै समूहमा एउटाको निवर्तमान संसदीय दलमा, अर्कोको केन्द्रीय कार्यकारिणी समितिमा बहुमत छ ।

पोखरा महानगरको नीति तथा कार्यक्रम : जनप्रतिनिधिलाई पाँच दिन पर्यटन बिदा

काठमाडाैं, ९ असार । पोखरा महानगरपालिकाको नवौं नगर सभा सुरु भएको छ । पोखरा सभागृहमा बुधबारदेखि शुरु भएको नगरसभामा महानगर प्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम सभासमक्ष पेश गर्दै नगर प्रमुख जिसीले ‘समुन्नत पर्यटकीय पोखरा’लाई रुपान्तरण गर्न पूर्वाधार, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताएका छन् ।

महानगर प्रमुख जिसीले कोभिड १९ नियन्त्रणका लागि महानगरले आवश्यक भौतिक पूर्वाधार, अस्पतालमा पर्याप्त जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङलगायतका कार्यलाई निरन्तरता दिने बताए । कोभिड १९ को कारणले प्रभावित भएका व्यवसायीलाई कर छुट तथा राहतको व्यवस्था गर्ने उनले बताए । त्यसैगरी वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लक्षित गरी कार्यक्रमहरु ल्याइएको प्रमुख जिसीले बताए ।

त्यसैगरी महानगरपालिकाले जनप्रतिनिधिलाई पाँच दिन पर्यटन बिदा दिने भएको छ । महानगरले आन्तरिक पर्यटनमा टेवा पुर्याउन जनप्रतिनिधिलाई पाँच दिनका लागि पर्यटन बिदा दिने भएको हो । यसअघि गण्डकीमा प्रदेश सरकारले आर्थिक बर्ष ०७८/०७९ का लागि प्रस्तुत गरेको बजेटमा सरकारी कर्मचारीलाई एक महिनाको तलब बराबरको सुविधा उपलब्ध गराएर बिदा पर्यटनको अवधारणा ल्याएको थियो ।

महानगर प्रमुख जिसीले पोखरा क्षेत्रका फिर्के खोला, विजयपुर खोला, सुइखेत, भोटी, स्याङ्खुदी फुस्रे खोलालगायतका खोलाको मापदण्ड परिमार्जन गर्ने उल्लेख गरेका छन् । पोखरा क्षेत्रका खोला नाला वरिपरिका क्षेत्रमा अतिक्रमण गरेर मापदण्ड मिची भौतिक संरचना निर्माण भएको बारम्बार विवाद आउने गरेको छ । मापदण्ड परिमार्जनको लागि विज्ञसहितको कार्यदल बनाएर अध्ययन गरी उक्त कार्यदलको सिफारिसको आधारमा कार्यपालिकाले मापदण्ड परिमार्जन गर्ने उनले बताएका छन् ।

महानगर प्रमुख जिसीले आफ्नो ४ बर्षको कार्यकालमा महानगर क्षेत्रमा २६८ सडक ढलान, ८२१ सडक कालोपत्रे र २९१ सडक ग्राभेल गरेको दावी गरेका छन् । मुख्य सहरी सडकहरूको स्तरोन्नति गर्ने क्रममा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा ४० करोड लागतमा २२ किमी सडक अस्फाल्ट कंक्रिट गर्ने काम धमाधम भइरहेको प्रमुख जिसीले बताए ।

उनले विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट प्रविधि मार्फत कालोपत्रे भैरहेको बताए । त्यसैगरी महानगरले प्रमुख पर्यटकीय सम्पदा फेवाताल, बेगनासताल, रुपाताल, खास्टेताललगायतका ९ वटा तालको सिमाङ्कनसहित दीर्घकालीन संरक्षणको योजना तयार पारेको उनले बताए ।

प्रमुख जिसीले महानगरका विभिन्न वडाहरूमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी ४६ वटा स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरेको बताए । उनले स्थानीय कृषि तथा अन्य उत्पादनलाई ब्रान्डिङ गर्ने, मौलिक कृषि उत्पादनको समर्थन मूल्य तोक्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, कृषि उत्पादनलाई पर्यटन स्तरका होटल एवं रेस्टुरेन्टको सहकार्यमा मेनोमा प्राथमिकता दिने योजना अगाडि सारेको बताए ।

महानगरले पोखरा क्षेत्रका प्राकृतिक सम्पदा नीजि क्षेत्रलाई भाडामा लगाउने योजना बनाएको छ । प्रमुख जिसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा फेवाताल, सेती नदी तथा रामघाट क्षेत्र संरक्षणको जिम्मा निजी क्षेत्रलाई सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार दिने उल्लेख गरिएको छ ।

प्रमुख जिसीले पातले छाँगो, फेवातालको मुहानको सिल्टेनड्याम र सेती खोँचको सम्झौता अन्तिम चरणमा पुगेको बताए । उनले पोखरा क्षेत्रका अन्य प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नका लागि अध्ययन भइरहेको बताए ।