जबरजस्ती बुटवल पुर्‍याएर बन्धक बनाइयो : प्रदेश सांसद विमला वली

सत्ता परिवर्तनको निर्णायक घडीमा गुट बदलेर चर्चामा आइरहेकी लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादीमै फर्किएकी छन् । आज माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दल कार्यालयमा सार्वजनिक भएकी वलीले एमाले नेताहरुले आफूलाई बन्धक बनाएर अनैतिक दबाब दिएको आरोपसमेत लगाइन् ।

उनले एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल र नेता मानबहादुर रावलले ‘अपहरण’ गरेको पनि दाबी गरेकी छन् । आज उनले सार्वजनिक गरेको विज्ञप्तिमा मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा उनीहरुले घरमै आएर एमालेमा फर्किन दबाब दिएको र गाडीमा हालेर बुटवल पुर्याइएको दाबी गरिएको छ । मन्त्रीको प्रलोभन देखाएर एमाले नेताहरुले मुख्यमन्त्री कार्यालयमा तीन दिनसम्म बन्धक बनाएर राखेको उनको आरोप छ ।

‘म नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशसभा संसदीय दलको सदस्य भैसकेपछि एमाले नेताहरुबाट एमाले पार्टीमा आउनुपर्यो भनेर बारम्बार दबाब आउन थाल्यो । यो दबाब निरन्तर जारी रह्यो । मैले त्यसलाई निरन्तर इन्कार गरिरहें’, उनले भनेकी छन् ।

वलीले साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशनमा आफूलाई झुक्याएर बुटवल पुर्याइएको र मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर एमालेमा प्रवेश गर्न दबाब दिइएको दाबी गरेकी छन् । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासमा लगातार दबाब दिइएको उनले बताइन् ।

बिरामी भएर उपचार गर्न नेपालगन्ज जान्छु भन्दा पनि जवर्जस्ती गाडीमा हालेर बुटवल पुर्याइएको उनको भनाइ छ । मुख्यमन्त्री पोखरेलले पनि एमालेमा आउन दबाब दिएको बताउँदै उनले भनेकी छन्, ‘पहिले हाम्रो गल्ति भयो,अब त्यस्तो हुँदैन ,पार्टीमा आउनुस्,मन्त्री बन्नुस् भनेर प्रलोभनमा पारियो । मैले निरन्तर ईन्कार गरिरहें ।’

साउन १८ गते आफूलाई थाहै नदिई हस्ताक्षर गराएर एमालेमा फर्किएको विज्ञप्ति सार्वजनिक गरिएको भन्दै उनले आपत्ति पनि जनाएकी छन् । त्यसपछि साउन १९ गते पनि मुख्यमन्त्री कार्यालयमा थुनेरै राखिएको उनको भनाइ छ ।

सबै आराम गरिरहेको मौका पारेर हिजो मुख्यमन्त्री निवासबाट उम्किन सकेको वलीले भनेकी छन् । ‘मुख्यमन्त्री निवासबाट निस्कने क्रममा पहिले तल आएँ, कसैलाई देखिँन, ममा कसरी बाहिर निस्कने भन्ने मात्र ध्यान थियो । स्याण्डिल लगाएर हिँड्दा आवाज आउने भएपछि त्यो स्याण्डिल त्यहीँ छाडेँ । त्यहाँबाट सोझै आएँ, बाटोमा एउटा अटो भेटेँ,त्यहीँ चढेर आएँ’, माओवादी संसदीय दलको कार्यालयमा उनले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भनिन् ।

राजनीतिक र सरकारको खेलमा यस्तो घटना आफूले जीवनमा पहिलोपटक व्यहोर्नु परेको भन्दै उनले एमालेले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भन्ने सोच्न समेत नसक्ने बताएकी छन् । उनले एमालेका कारण अहिले पनि आफूलाई तनाव भैरहेको पनि बताइन् ।

घटनाले आफूलाई थप परिपक्व बनाएको भन्दै उनले अब एमालेमा जाने सम्भावना नरहेको प्रष्ट पारेकी छन् । फेरि एमालेमा जाने कुरा छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘म उता (एमाले) मा जाने भए यता किन आउँथे ? ती सबै कुरा गलत हो । म माओवादी हुँ, माओवादी नै हुन्छु ।’

मुख्यमन्त्री निवासमा बन्धक बनाउँदा केही नेताले फोन सम्पर्क गरेको पनि उनले बताएकी छन् ।

 

होटलमा लुकाइएको कोरोना खोपसहित बिर्तामोड नगरपालिकाका एक कर्मचारी पक्राउ

कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण घाममा तातिइरहँदा आफू निकट मानिसलाई लगाउनका लागि होटलमा लुकाएर राखिएको भेरोसेल खोपसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

कोरोनाविरुद्धको खोप मापदण्ड विपरित आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेका बेला खड्का पक्राउ परेका हुन्।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बिर्तामोडको होटल टाइमलेस मोमेन्ट्समा खोपसहित खड्कालाई रंगेहात समातेर प्रहरीको जिम्मा लगाएका हुन्।

खड्का पक्राउ परिसकेको र आवश्यक कानुनी कारबाही हुने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। खड्कालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ ।

केही दिन यता खड्काले सो होटलमा आफ्ना नजिकका मानिसलाई बोलाएर खोप लगाउने गरेको सूचना पाएपछि नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले खड्कालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।

खड्काले भने आफू होटेलमै क्वारेन्टिनमा रहेकाले त्यहीँ खोप ल्याइएको दाबी गरेका छन्। उनले स्वास्थ्य कार्यालय झापाबाट पठाएको खोप त्यहाँ जिम्मा लिएको बताए।

कर्णाली सरकारद्वारा कोभिडबाट मृत्यु भएकाका परिवारलाई राहत रकम दिन सुरु

कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ। पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमित मध्ये ३४२ जनाको मृत्यु भइसकेको छ। मंगलबार थप एकजनाको मृत्यु भएको छ।

यसअघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो।

जसअन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरि १३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केही दिनमा नै रकम वितरण गर्ने कर्णाली सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले बताइन्।

हाल सम्म ३४५ जनाका परिवारले क्षतिपूर्तिकाे मागसहित प्रदेश सरकारलाई निवेदन पेश गरेका छन्। पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको पत्र, हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, रकम दाबीकर्ताको नागरिकताको प्रतिलिपिको र हकवालाको बैंक खाताका आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराएको छ।

अन्य व्यक्तिहरुको पनि तथ्याङ्क संकलनको क्रममा रहेकाले छिटै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताएकी छन् ।

कोरोना पुष्टि भएका मध्ये केही मानिसहरु भारत तथा देशका अन्य प्रदेशमा मृत्यु भएका कर्णालीबासीलाई पनि प्रदेश सरकारले राहत उपलब्ध गराउने भन्दै मन्त्री नेपालीले अन्य क्षेत्रबाट पनि निवेदन आइरहेको बताइन्।