गढवामा सरकारी दरमा दुग्ध खरिद–बिक्री साउन ७ गते सुरु

गढवा, ६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद–बिक्री सुरु गर्ने भएको छ।

सहकारीले २०८२ साउन ७ गते बुधबारदेखि बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म गढवा प्रहरी चौकीको उत्तरतर्फ रहेको गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्रबाट किसानहरूले ल्याएको शुद्ध र सफा दूध खरिद गर्ने जनाएको छ।

यस कार्यका लागि गाउँपालिकाले भिटा परियोजना मार्फत बुटवलस्थित विशिष्टीकृत सहकारीसँग सरकारी दरमा मासिक भुक्तानी हुने गरी सम्झौता गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले जानकारी दिनुभयो।

यसअघि गाउँपालिकामा दूध संकलन केन्द्र सञ्चालनमा नआउँदा किसानहरूले उत्पादन गरेको दूधको समयमै भुक्तानी नपाएको गुनासो गर्दै आएका थिए। यस पटक सहकारीले सरकारी दरमा दूध खरिद गरी मासिक दुईपटक वा एकपटक अनिवार्य भुक्तानी गर्ने व्यवस्था मिलाइएको अध्यक्ष पोखरेलले बताए।

सरकारी दररेट अनुसार १ फ्याटको ७.१५ रुपैयाँ र १ एस एन एफ को ४.५४ रुपैयाँ सरकरी दररेट कायम गराएको गढवा गाउँपालिका, भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्माले जानकारी दिनुभयो।

दुग्धको बजार अभावमा मर्कामा परेका किसानका लागि यो कार्यक्रम आशाको किरण बनेको छ।

लघुवित्तले बचत फिर्ता नगरेको भन्दै गढवामा प्रदर्शन, ब्यानर तोडफोड

गढवा, २ श्रावण। लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष दाङ जिल्ला समितिको आयोजनामा शुक्रबार गढवा बजारमा रहेका विभिन्न लघुवित्त संस्थाहरूमा भेटघाट र छलफलका लागि पुगेका लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिले ब्यानर तोडफोड गरेका छन्।

संघर्ष समितिका अनुसार, लघुवित्तमा जम्मा गरिएको बचत रकम ऋण चुक्ता गरेपछि पनि बचत फिर्ता पाउन नसकिएको गुनासो गर्दै सङ्घर्ष समिति/ बचतकर्ताहरु आक्रोशित बनेका हुन्। लघुवित्त बैंककर्मीहरूले समूहमा रहेका सम्पूर्ण सदस्यहरूले कर्जाचुक्ता नगरेसम्म अन्य सदस्यहरुको समेत बचत रकम फिर्ता गर्न नसक्ने नीति भएको बताएका छन्।

संघर्ष समितिले जानकारी दिएअनुसार भेटघाट तथा छलफलका लागि गएका टोलीलाई कुनै पनि लघुवित्त संस्थाले सकारात्मक प्रतिक्रिया नदिएको र धेरै कार्यालयहरूमा ताला लगाइएको भेटिएको थियो। यसपछि सङ्घर्ष समिति/ बचतकर्ताहरु थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

आफूले कर्जा चुक्ता गरिसक्दा पनि बचत रकम नपाएको भन्दै सङ्घर्ष समिति बचतकर्ताहरुले गढवाका विभिन्न लघुवित्त कार्यालयमा भेटघाटका नाममा प्रदर्शन गरेका थिए। तोडफोड हुनसक्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

गढवा गाउँपालिकामा साना किसान तथा युवा उद्यमशीलता परियोजनाको अनुगमन सम्पन्न

गढवा, असार २३। गढवा गाउँपालिका वडा नं. ७ मा सञ्चालित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजनाको पालिका स्तरीय अनुगमन आज सम्पन्न भएको छ। कृषि तथा पशुपालनमा आधारित विभिन्न कार्यक्रमहरूको मूल्यांकन तथा प्रभावकारिता अवलोकन गर्न पालिकास्तरीय टोली खटिएको हो।

गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहकार्य र ग्रामीण महिला उत्थान केन्द्र, घोराही दाङको समन्वयमा सञ्चालित उक्त परियोजनाले स्थानिय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिँदै आएको छ। परियोजनाअन्तर्गत गठित किसान समूहहरूले पशुपालन, तरकारी खेती, क्षमता अभिवृद्धि तालिम, तथा आयआर्जनमुखी कार्यक्रमहरू सञ्चालन गरेका छन्।

अनुगमनका क्रममा किसानहरूले परियोजनाबाट आफ्नो जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनको अनुभव सुनाएका थिए। उनीहरूले विभिन्न कार्यक्रमबाट सीप अभिवृद्धि भएको, उत्पादनमा वृद्धि आएको र आम्दानीमा समेत सुधार भएको जनाएका थिए। समितिले किसानहरूको सक्रियता र सफलताप्रति प्रशंसा व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सिफारिस गरेको छ।

यसै क्रममा आज पालिकास्तरीय परियोजना अनुगमन तथा समन्वय समितिको बैठक समेत सम्पन्न भएको छ। बैठकमा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल, वडा नं. १, ४ र ८ का अध्यक्षहरू बाबुराम अधिकारी, हरीभगत चौधरी र अब्दुल खालिक सिद्दीकी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, हेफर प्रोजेक्ट नेपालका भीटा परियोजना प्रमुख दुर्गा बहादुर के.सी., क्षेत्रीय प्रबन्धक प्रकाश के.सी., हेफर इन्टरनेशनल नेपालका किशोर काफ्ले, ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी, कृषि शाखा प्रमुख कर्ताराम यादव, पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख अनन्तराज रेग्मी, भिटा परियोजना संयोजक बसन्त कुमार शर्मा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले सामाजिक परीक्षणसम्बन्धी प्रस्तुति राखेका थिए।