इलाम घटनाः महिलाबाट ‘ब्ल्याकमेलिङ’, अन्ततः हत्या

महिलाको ‘ब्ल्याकमेलिङ’ सहन नसकेपछि एक जना सुरक्षागार्डले उच्च अदालत इलाम इजलाशमा कार्यरत एक महिलाको हत्या गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उच्च अदालत विराटनगरको इलाम इजलाशमा कार्यरत एक कर्मचारीको हत्या आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।

उच्च अदालतका मुख्य न्यायाधीशको सुरक्षा गार्ड असई युवराज बानियाँले कार्यालय सहयोगी सोलुखुम्बु घर भएकी ४८ वर्षीया विमला पराजुलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

बानियाँले पराजुलीको क्वाटरमै हत्या गरेको स्वीकारेको श्रेष्ठले बताए।

उनले भने, ‘कानुनले बर्जित गरेको अभियोग लगाउँछु भनेपछि बानियाँले हत्या गरेको खुल्न आएको छ।’ आर्थिक लेनदेनमा पनि उनीहरू नजिक रहेको उनले बताए।

श्रेष्ठले भने, ‘पहिलादेखि जिस्किने, आर्थिक कारोबार गर्ने गरेका रहेछन्। पछिल्लो समय मन मिल्न छाड्यो अनि अन्ततः हत्यामा कुरा पुग्यो।’

घटनाको अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत इलामले पाँच दिनको म्याद थप गरेको छ।

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन : देउवा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्तीको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका हुन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभई र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् । यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् । हालसम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको जानकारी आएको छैन ।

विज्ञप्तिबारे विवाद भएपछि साँझ ६ बजे हुने भनिएको शपथ अझै शुरु हुन सकेको छैन ।

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको छ । बैठक स्वतः अन्त्य भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा सोमबार जारी सूचनापत्रमा उल्लेख छ । राष्ट्रियसभाको चालु आठौं अधिवेशन असार १७ गते आह्वान भएको थियो ।

अधिवेशनका क्रममा बसेको ६ वटा बैठकमा सांसदहरुले मुलुकको समसामयिक जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।