राजपत्रमा प्रकाशित भयो जेठ १ देखि हप्तामा २ दिन बिदा दिने निर्णय

परीक्षणका लागि जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

जेठ १ देखि हरेक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यस्तै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपराह्न साढे ५ बजेसम्म निर्धारण गर्ने, कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान साढे ९ देखि अपराह्न साढे ४ बजेसम्म रहने सूचनामा उल्लेख छ ।

यस्तै राजपत्रमा दशैँ र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरूले तेस्रो दिनदेखि गृहमन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने र सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्ने उल्लेख छ ।

चुनाव प्रचारका लागि नेताहरुको अन्तिम दौडधुप, को कहाँ पुगे ?

२७ वैशाख । मंगलबार चुनावी प्रचारको अन्तिम दिन रहेकाले दलका नेताहरुको दौडधुप सर्वाधिक बढेको छ । दलका शीर्ष नेताहरुले यसबीचमा पूर्वदेखि पश्चिमसँगका चुनावी सभालाई सम्वोधन गरेका छन् ।

चुनावी प्रचारका लागि सर्वाधिक सभामा पुग्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । चैतबाट सुरु भएको उनको प्रचार सभा मंगलबारबाट सकिँदैछ । छोटो अवधिका सर्वाधिक सभामा सरिक हुनेमा भने कांग्रेस महामन्त्री गगन थापा छन् ।

सत्ता गठबन्धन तालमेल गर्ने/नगर्ने वा कहाँ कसलाई भागवण्डामा गर्ने भनेर अल्झिरहँदा एमाले अध्यक्ष ओलीले काठमाडौं बाहिरका १५ सभा सकिसकेका थिए । चैत महिनामा ओलीले केन्द्रीय राजधानी बाहिरका सभालाई प्रमुख प्राथमिकतामा राखेका थिए ।

नेपाली कांग्रेसले बैशाख २० मा मात्रै चुनावी सभाका लागि केन्द्रीय नेता तोकेको थियो । कांग्रेसले तय गरेको पूर्व निर्धारित सभा अनुसार डडेलधुराबाट चुनावी प्रचार अभियान सकिने छ । वैशाख २१ देखि मंगलबारसम्म तय गरिएका सभामा सभापति शेरबहादुर देउवा सहित केन्द्रीय तहका शीर्ष नेताहरु वक्ता बनाइएको थियो ।

केन्द्रीय वक्ता चयन गरिएका स्थानमा देउवा र नेता रामचन्द्र पौडेललाई धेरै स्थानमा छुटाइएको छैन । विराटनगर, भरतपुर, काठमाडौं, बुटवल, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी र डडेलधुरा केन्द्रीय तहबाट निश्चित गरिएका सभाहरु थिए । सभापति देउवा पार्टी केन्द्रले तय गरेका सबै सभामा पुगेका छन् । डडेलधुरामा मंगलबार तय गरिएको सभामा भने रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।

देउवाले सदरमुकाम अमरगढी र परशुराम नगरपालिकामा आयोजित सभामा सम्बोधन गर्ने कार्यक्रम छ । उनी मतदान गरेपछि मात्रै काठमाडौं फर्कने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ललितपुर महानगर समितिले गर्ने सभामा पौडेल मंगलबार सहभागी हुने भएका छन् ।

केन्द्रीय चुनाव प्रचार परिचालन समितिले बनाएको सूचीमा रहेका कांग्रेस महामन्त्री गगन थापालाई काठमाडौंको सभाका लागि वक्ता बनाइएको थियो । वैशाख २३ मा काठमाडौंमा सत्ता गठबन्धनले गरेको चुनावी सभामा गगन उपस्थित भएनन् । पार्टी केन्द्रले वक्ताको रुपमा आफ्नो नाम राख्नु अघि नै जिल्लाका सभामा जाने निश्चित गरिएकाले वैशाख २३ मा काठमाडौंको सभामा उपस्थित हुन नसकेको महामन्त्री थापाले बताए ।

वैशाख २३ बाट जिल्ला दौडाहामा निस्केका थापाले एकै दिन सात वटा सभालाई सम्बोधन गरेका छन् । उक्त दिन (वैशाख २३) मा रौतहटको चन्द्रपुर, गरुडा, कटहरिया, राजदेवी, ईशनाथ लगायतका क्षेत्रको चुनावी प्रचारमा थापा पुगेका थिए । गत शनिबार थापा भोजपुर र रामेछापका सभामा सहभागी भए । रामेछापको मन्थली नगरपालिका र सुनापाति गाउँपालिकामा भएको सभामा पनि सोही दिन सहभागी भएका थिए ।

गत आइतबार थापा मधेस प्रदेशका जिल्ला तीन जिल्ला पुगे । बारा, महोत्तरी र रौतहटमा स्थानीय कार्यसमितिले आयोजना गरेको सभालाई सम्बोधन गरे । सोमबार उदयपुर र मोरङका कार्यक्रममा भएका उनले मंगलबार काठमाडौं उपत्यकाका जिल्लाहरुमा हुने प्रचार सभालाई सम्बोधन गर्ने भएका छन् । ‘काठमाडौंमा ६÷७ वटा चुनावी कार्यक्रम छ । आइतबार मधेसमा ७ वटा भ्याएर आएको हो । बढीमा एक दिनमा ७ स्थानका चुनावी सभा सहभागी भएँ । थापाले  भने, ‘म गएको ठाउँमा साथीहरु उत्साहित छन् । एउटामा पुग्दा एउटासँग प्रतिस्पर्धा हुन्छ । अर्कोेमा पुग्दा अर्कै दलसँग प्रतिस्पर्धा हुने देखिन्छ । त्यहाँ भित्रको प्रतिस्पर्धा फरक फरक पाएँ ।’

थापाले भने, ‘पुगेका स्थानमा केहीमा अरुको कुरा पनि सुन्ने अवस्था बन्छ । केहीमा भने हतारले गर्दा छिटो निस्कनुपर्ने पनि हुन्छ । पुगेका ठाउँमा सकेसम्म अध्यक्ष वा प्रमुखलाई बोल्ने दिएपछि आफू बोल्ने गरेको छु ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पूर्वी जिल्लाहरुका सभालाई बढी समय दिएका छन् । चुनावी प्रचारकै लागि रुपन्देही र नवलपरासी पुगेका उनी पूर्वी पहाडी जिल्लाका सभामा सहभागी भएर तराईका जिल्लामा केन्द्रित भएका छन् । ‘बुद्ध जन्मिएको स्थानदेखि सगरमाथाको फेदी ओखलढुङ्गा सम्मका चुनावी प्रचार अभियानमा पुगें,’ शर्माले भने, ‘पूर्वको विराटनगरदेखि पश्चिमको बर्दघाटको चुनावी कार्यक्रममा सहभागी भएँ ।’

कांग्रेसले तय गरेको स्थानलाई गठबन्धनको संयुक्त सभा बनाइएको थियो । बिहीवारदेखि सोमबारसम्मका लागि कांग्रेसले निर्धारण गरेको स्थानमा संयुक्त सभा भएको छ । यी सबै सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भए । भरतपुर, काठमाडौं, जनकपुर, पोखरा घोराही, तुल्सीपुर, धनगढीका सभालाई प्रचण्डले सम्बोधन गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भरतपुर, काठमाडौं, पोखरा लगायतका स्थानमा सहभागी भए । जनकपुरमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको सभामा सम्वोधन गरे । केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको भन्दै कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आफ्नै गृहजिल्ला जनकपुरमा भएको संयुक्त सभालाई बहिष्कार गरे ।

एकै दिन धेरै ठाउँमा पुग्न पर्ने भएकाले नेताहरुले हेलिकप्टरको प्रयोग गरिरहेका छन् । हेलीकप्टरको खर्च विभिन्न माध्यमबाट व्यहोर्ने व्यवस्था स्थानीय समितिले मिलाएको नेताहरु दाबी गर्छन् ।

गठबन्धन लगत्तै एमालेको सभा

एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सभा भइसकेपछि तत् स्थानमा पुग्ने गरेका थिए । भरतपुर, पोखरा, बुटवल र काठमाडौंमा गठबन्धनले सभा सकेपछि एमालेले राखेको थियो । आइतबार बुटबल र भरतपुरको सभालाई ओलीले चुनावी सभामा भाषण गरेका थिए । बैशाख २३ मा सत्ता गठबन्धनले काठमाडौंमा चुनावी सभा गरिसकेको छ । एमालेले भने मंगलबार गर्दैछ ।

वैशाख २१ मा इलाम र झापाका कार्यक्रम भ्याएका ओलीले अर्को दिन कैलाली र कञ्चनपुरका सभालाई सम्वोधन गरे । उनी वैशाख २४ मा इटहरी, धरान, विराटनगरका चुनावी सभामा थिए ।

जो आफ्नै क्षेत्रमा केन्द्रित रहे

नेपाली कांग्रेसका शीर्ष नेताहरुमध्ये केही नेताको चुनावी प्रचारमा कहाँ खटिएका छन् भन्ने समेत चर्चा भएन । उपसभापति पूर्ण बहादुर खड्का र पूर्व महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचारमा चर्चा समेत सुनिएको छैन ।

नेता डा. शेखर कोइराला र प्रकाशमान सिंह भने आफ्नै महानगरबाट बाहिर निस्कन सकेका छैनन् । आफू पक्षीय उम्मेदवारलाई विजयी गराउन शेखर विराटनगरमा तल्लिन छन् भने प्रकाशमान काठमाडौंमा । शेखर पक्षीय नागेश कोइरालालाई विजयी बनाउन उनी विराटनगरको घरदैलोमा व्यस्त छन् ।

अर्का नेता प्रकाशमान पत्नी सिर्जना सिंहलाई काठमाडौंको मेयरमा विजयी बनाउने प्रयासमा काठमाडौंका वडा÷वडामा घरदैलो गरिरहेका छन् ।वीरगञ्ज र जनकपुरको मेयर पदको उम्मेदवार जसपालाई छाडेपछि असन्तुष्ट देखिएका नेता विमलेन्द्र निधिले जनकपुरको सत्ता गठबन्धनको सभा नै बहिष्कार गरेका छन् ।

अन्तर्राष्ट्रिय सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द

२७ वैशाख। आज मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाका बन्द भएको सूचना जारी गर्नेछन् ।नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्दछ ।