
भालुवाङ ३ पुस । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ
मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले ४ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले बढ्दो लागु औषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण गर्न राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा लागुऔषध, ट्राफिक तथा साइबर सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने र अभियानको सुरुवात राप्ती गाउँपालिका-७ छोट्की सिसहनियाँ स्थित सरस्वती आधारभूत विद्यालयबाट सुरुवात गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले एमसिए नेपालले पुर्व पश्चिम राजमार्ग अन्तरगत धानखोला लमही सडक खण्ड २ लेन बनाउने विषयमा नागरिक स्तरबाट उठेको विरोध प्रति मन्चले ऐक्यबद्धता जनाउँदै उक्त सडक खण्डलाई ४ वा ६ लेन बनाउन सम्बन्धित निकाय तथा नेपाल सरकारलाई नै दवाफ दिन प्रेस विज्ञप्ती जारी गर्ने, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र नागरिक सम्बाद कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै पत्रकारहरुको सिप विकासका लागि सञ्चारकर्मीहरूलाई १ दिने ग्राफिक डिजाइन तथा भिडियो सम्पादन तालिम संचालन गर्ने निर्णय गर्ने, स्वास्थ्य रिपोर्टिडाका लागि राप्ती गाउँपालिकाका सम्पूर्ण संचारकर्मीहरुलाई लक्षित गरि स्वास्थ्य पत्रकारिता तालिम संचालन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह-कोषाध्यक्ष लालमणी भुसाल, सदस्यहरू मुक्तिराम पाैडेल, विदुर एमसी, किरण जिसी, मोतीराम भट्टराई, पत्रकारहरू सन्तोष थापा र ललित कुमालको विशेष उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।




