
गढवा,११ मंसिर । गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल तथा ग्रामीण महिला उत्थान केन्द्रको सहकार्यमा गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना कार्यक्रम अन्तर्गत गाउँपालिका–५ मा गठन भएको सिमलतारा उद्यमी महिला समूहको आयोजनामा पहिलो पुस्ताको बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको छ।
समूहकी अध्यक्ष पदमा पुनको अध्यक्षतामा तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ५ नं. वडाध्यक्ष लेख बहादुर थापाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा १९ वटा पाठी बाख्रा समुहका सदस्यहरुले समुहकै अन्य सदस्यहरूलाई उपहार प्रदान गर्नु भएको हो।जसले महिलालाई आयआर्जनका माध्यम विस्तार गर्न ठूलो सहयोग पुग्ने बताइएको छ। कार्यक्रममा सिमलतारा, कक्रहवा, ठुलीचौर, लालीगुराँस र बाँकी महिला उद्यमी समूहका गरी करिब ८० जना को उपस्थिति रहेको थियो।
बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले महिलाको आर्थिक सशक्तिकरण विकासको मूल आधार भएको भन्दै यस्तो कार्यक्रम गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो।“महिलालाई आयआर्जनका माध्यम उपलब्ध गराउन सकेमा परिवार र समुदाय दुबै आर्थिक रूपमा मजबुत हुन्छन्। भिटा परियोजना र सहभागी समूहहरुको प्रयास प्रशंसनीय छ। गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर साथ र सहयोग प्रदान गर्दै जाने बताउनुभयो। अध्यक्ष पोख्रेलका अनुसार पशुपालन क्षेत्र ग्रामीण जीवनस्तर उकास्न सर्वाधिक प्रभावकारी माध्यम भएकाले यस कार्यक्रमले दीर्घकालीन फाइदा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै वडा नं.५ का वडाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि लेखबहादुर थापाले यस कार्यक्रमले महिलामा आत्मविश्वास, सीप र व्यवसायिकता अभिवृद्धि गरेको बताउनु भयो। “बाख्रा उपहार केवल सहयोग होइन, यो महिलालाई उद्यमी बनाउने बाटोको सुरुवात हो। हाम्रो वडा पशुपालनका क्षेत्रमा अग्रसर छ, र आगामी दिनमा पनि यस्ता उत्पादनमुखी कार्यक्रम विस्तार गर्न वडा कार्यालय सदैव तत्पर रहने समेत जानकारी दिनुभयो। वडाध्यक्ष थापाले समूहहरूले देखाएको प्रतिबद्धता र एकताले वडामा सामुदायिक विकासलाई थप गतिशील बनाएको उल्लेख गर्नु भयो।
समूहकी सचिव तुल्सा जिएमको स्वागत मन्तव्य राख्दै उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो। समूहको प्रगति प्रतिवेदन प्रस्तुत दिलमाया पुनले गर्नु भएको थियो।
कार्यक्रम हेफर इन्टरनेशनल प्रोजेक्ट नेपालका कार्यकारी प्रमुख दुर्गा केसी, वरिष्ठ अधिकृत सरद पोख्रेल, अधिकृत महेश कुमार आचार्य, कार्यक्रम संयोजक बसन्त कुमार शर्मा र सामुदायिक सहजकर्ता कैलाश चौधरी, आशा श्रेष्ठ र अम्बिका शर्मा लगायतको सहभागिता रहेको थियो।




