चौथो पटक सम्मानितः आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेड

गणतन्त्र नेपाल समाचारदाता

दाङ। आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेड दाङ जिल्लामा लगातार चौथो पटक सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आज आन्तरिक राजस्व कार्यालय तुलसीपुरले विशेष समारोहका बीच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सोगतबीर चौधरीलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरेको हो।

समारोह आन्तरिक राजस्व कार्यालयका प्रमुख श्रीधर टण्डनको अध्यक्षतामा तथा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कर दिवसका अवसरमा जिल्लामा सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रूपमा आत्मनिर्भर लघुबित्त वित्तीय संस्थाले ३ करोड ७६ लाख ६५ हजार ८ सय १८ रूपैयाँ ५६ पैसा बराबरको कर दाखिला गरी पुनः सम्मान पाएको हो।

सिईओ चौधरीले मातृसंस्था ग्रामीण महिला उत्थान केन्द्रले बि.स. २०५१ सालदेखि महिला सामाजिक, सांस्कृतिक तथा आर्थिक सशक्तीकरणका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गर्नुभयो। महिलाहरू आर्थिक रूपमा सक्षम नहुँदासम्म वास्तविक सशक्तीकरण सम्भव नहुने बुझेर संस्थाले बि.स. २०६० सालदेखि १७ सय रुपैयाँ लगानीबाट उद्यमशीलता विकासको अभियान सुरू गरेको उहाँले बताउनुभयो।

उहाँका अनुसार निरन्तरको यात्राले आज आत्मनिर्भर लघुबित्त वित्तीय संस्थालाई लुम्बिनी प्रदेशस्थित “घ” वर्गको बैंकको रूपमा विस्तार गरेको छ र हाल ५५–६० हजार महिला सदस्यसँग हातेमालो गर्दै काम गर्न पाउनु संस्था तथा आफूले गर्वका रूपमा लिने बताउनुभयो।

संस्थाले दाङ, बाँके र बर्दिया जिल्लामा २२ वटा शाखा तथा उपशाखाबाट साना व्यवसायी तथा उद्यमी महिलाहरुलाई बिना धितो, समूह जमानी तथा धितोका आधारमा कर्जा प्रवाह गर्दै उत्पादनमूलक कार्यमा लगानी बढाउँदै आएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत अति विपन्न तथा सीमान्तकृत समुदायका लागि स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सहयोग पुर्‍याउँदै आएको जानकारी दिइयो।

कर्जा सुरक्षणअन्तर्गत कर्जा बीमा, सुत्केरी सुविधा, ग्राहक संरक्षण कोषमार्फत आवश्यकताअनुसार विभिन्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले आपतकालीन अवस्थाहरूमा सदस्यहरूलाई राहत तथा आवश्यक सेवा–सुविधा प्रदान गर्दै आएको पनि बताइएको छ। संस्थामा आवद्ध दिदीबहिनीहरूका घरपरिवारमा स्वरोजगारको अवसर बढ्दै, छोराछोरीले गुणस्तरीय शिक्षा पाउने वातावरण बनेको सिईओ चौधरीले उल्लेख गर्नुभयो।

आत्मनिर्भर तथा सशक्त समाज निर्माणको उद्देश्यसहित स्थापना भएको संस्थाले हजारौँ महिलालाई उद्यमी बनाउँदैं उनीहरूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणमा समेत सहजीकरण गर्दै आएको छ। पुनः सम्मानित हुँदा संस्था अझै पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित सेवा विस्तारमा प्रेरित भएको बताउँदै चौधरीले आन्तरिक राजस्व कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, सशस्त्र प्रहरी कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि, इलाका प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल पत्रकार महासंघ, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID