
गढवा, १० असोज । आउँदै गरेको चाडपर्वलाई लक्षित गरी गढवा उद्योग वाणिज्य संघकाे आयोजनामा शुक्रबार गढवा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
सरसफाइको क्रममा व्यापारी तथा घरधनीलाई आफ्नै घर अगाडि रहेको फोहोर आफैं व्यवस्थापन गर्न अनुरोध गरिएको थियो । चार्डपर्व लक्षित गरेर उद्योग वाणिज्य संघले हरेक वर्ष सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सो अवसरमा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले चाडपर्वको बेलामा सरसफाइलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताए । उनले भने, “स्वच्छ वातावरण बिना स्वस्थ जीवन सम्भव छैन । यस किसिमको सरसफाइ अभियानले बजारलाई सफा राख्न मात्र नभई यहाँ आउने सर्वसाधारणमा पनि सकारात्मक सन्देश पुर्याउनेछ । व्यापारी तथा घरधनीहरूले आफ्नो घर–दुकान अगाडिको फोहोर आफैं व्यवस्थापन गरे बजार अझै आकर्षक र व्यवस्थित देखिनेछ ।”
सरसफाई कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, गढवा गाउँपालिका भिटा परियोजना संयोजक बसन्त कुमार शर्मा, प्रहरी जवान, नगर प्रहरी, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।




