श्रम सम्बन्ध दिगो र भरपर्दो बनाउन बाँकी नै छ – अध्यक्ष गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको मार्गमा रहेको भए पनि दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

१३२औँ अन्तरराष्ट्रिय मे दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले यस्ताे बताएका हुन् ।

श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास र श्रम सम्बन्ध सुधारजस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने गाेल्छाकाे जिकिर थियाे ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना सङ्क्रमणको दोस्रो लहरले थप चिन्ता थपेको अध्यक्ष बताउँदै उनले भने – “हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छौँ । हाम्रो सामु रहेको यो चुनौतीपूर्ण घडीमा सतर्कतापूर्वक जोखिम न्यूनीकरणका उपाय अनिवार्य रूपमा पालना गरी काममा निरन्तरता दिनुको विकल्प छैन ।”

महासङ्घ रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र सङ्घईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा अगाडि आइपर्ने  समस्या र सङ्कटको सामना गर्नु सबै एकजुट हुनुपर्ने धारणा राखे।

उनले अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुँदा श्रमजीवी वर्गमा पर्ने प्रभाव कम गर्न अझ बढी समझदारीका साथ सहकार्य गर्नुपर्नेमा जोड दिए ।

बाँच र बचाउको यो कठिन अवस्थाबाट चाँडै छुट्कारा मिल्ने कुरामा आफू विश्वस्त रहेकाे उनकाे भनाइ थियाे ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *