गढवा, १८ असार। गढवा गाउँपालिका वडा नं. ६ मा आयोजित १५ दिने कुसन, डल/गुडिया बनाउने सिपमूलक तालिम आज सम्पन्न भएको छ। महिलाहरूलाई स्वरोजगारमुखी बनाउन र उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो।
उक्त तालिम सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुर दाङको आर्थिक सहयोग तथा दलित सशक्तीकरण अभियान, गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी महिलाहरूले कुसन, डल तथा गुडिया बनाउने सीपहरू व्यावहारिक रूपमा सिकेका थिए। तालिमले महिलाहरूमा आत्मनिर्भरता, घरमै बसेर आम्दानी गर्न सकिने क्षमताको विकास र घरेलु उद्योगतर्फको आकर्षण वृद्धि हुने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।
तालिम समापन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा सहभागी महिला प्रशिक्षार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
गढवा गाउँपालिकाले आगामी दिनहरूमा समेत यस्ता सिप विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
