कुनै पनि हालतमा एमसिसी लागू हुन दिँदैनौ – विप्लव

गणतन्त्रनेपाल संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसिसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् ।

महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसिसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबीसमेत गरे । उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरूलाई आह्वानसमेत गरे ।

एमसिसीको विरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौता पारित गर्न कसले सक्छ ? भनी प्रश्न गरे ।

‘हामी लड्छौँ। कुनै पनि हालतले एमसिसीलाई लागू हुन दिँदैनौ। यो कुनै लुकाइ छिपाइको कुरा छैन । आज पनि हामी भन्छौँ– एमसिसी नेपालको राष्ट्रियताको विरुद्धमा छ। नेपालको सार्वभौमिकताको विरुद्धमा छ। नेपालको स्वतन्त्रताको विरुद्धमा छ। नेपाली जनताको अधिकारको विरुद्धमा छ,’ उनले भने, ‘कुनै पनि देशले हाम्रो देशमाथि जबर्जस्ती सन्धि लाद्न पाउँदैन ।‘

महासचिव चन्दले एमसिसी सम्झौताविरुद्ध आफूहरूले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन सचेत गराएका छन् । उनले आफूहरूले वास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दाबी गरे ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']