गोबरडिहा आयुर्वेद औषधालयमा महिने स्क्रिनिङ कार्यक्रम सुरु

आलोक भावुक

गढवा ५ फागुन। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा स्थित गोबरडिहा आयुर्वेद औषधालयको आयोजनामा नसर्ने रोग पहिचानका लागि एक महिने निशुल्क स्क्रिनिङ अभियान सोमबारदेखि सुरु भएको छ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ एक महिने निशुल्क स्क्रिनिङ अभियान सुरु भएको हो।

मृत्यु वा अपाङ्गताको मुख्य कारणको रुपमा रहेको नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखि फागुन ५ गतेदेखि महिनाभर चल्ने गरी स्क्रिनिङ अभियान सुरु भएको गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीले जानकारी दिनुभयो।नसर्ने रोगहरुको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि अभियान सञ्चालन गरिएको बताउनु भयो।

एक महिने निशुल्क स्क्रिनिङ अभियानको क्रममा ३० वर्ष पुला गरेका महिला पुरुषको स्वास्थ्य अवस्था वारे जानकारी पाउनका लागि मधुमेह जांच(रगतमा चिनिको मात्र परिक्षण), रक्तचाप मापन, मृगौला सम्बन्धी रोगको जांच, तौल र उचाईको आधारमा बिएमआई मापन, योग, ध्यान, प्रणायाम र जिवन शैली परामर्श सम्बन्धी चेकजाँच गरिने छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले परिपत्र गरे अनुसार प्रदेश स्तरीय आयुर्वेद संस्थाहरु सबै, जिल्लास्तरीय आयुर्वेद संस्थाहरु सबै, आयुर्वेद औषधालय सबै, नागरिक आरोग्य सेवा केन्द्रहरु सबैमा फागुन महिनाभर नसर्ने रोगको पहिचानका लागि अभियान सञ्चालनका लागि पत्रचार गरेको हो।

पहिलो दिनको निशुल्क नसर्ने रोग पहिचानका लागि एक महिने स्क्रिनिङ कार्यक्रममा कुल १ सय १२ जनाले सेवा लिएका छन्। स्क्रिनिङ कार्यक्रम एक महिना सम्म निरन्तर चल्ने छ।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']