गढवा गाउँपालिकामा निशुल्क मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ सम्पन्न, २६५ जनाले सेवा लिए

आलोक भावुक

गढवा, २६ कात्तिक । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयका जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आज सोमबार गढवा गाउँपालिका वडा नम्बर २ महदेवामा रहेको आधारभूत स्वास्थ्य केन्द्र महदेवामा निशुल्क मधुमेह, उच्च रक्तचाप र मृगौला रोग सम्बन्धी प्रचार प्रसार जनशक्ति परिचालन तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।

स्क्रिनिङ कार्यक्रममा कुल २ सय ६५ जनाले ओपीडी सेवा लिनु भएको छ। जस मध्ये १ सय ७ पुरुष र १ सय ५८ महिला रहनु भएको छ।स्क्रिनिङ कार्यक्रमबाट कुल मध्ये ७८ जना उच्च रक्तचाप भएका बिरामी, ७० जना मधुमेहका बिरामी र ७ जना मृगौला सम्बन्धी समस्या भएका बिरामी भेटिएका छन्।

४० बर्ष भन्दा बढी उमेर भएकाहरुको सुगर, प्रेसर र किड्नीको स्क्रिनिङ गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका सुगर, प्रेसर र किड्नीको स्क्रिनिङ कार्यक्रमको फोकल पर्सन उज्वल कुमार पौडेलले जानकारी दिनुभयो।

स्क्रिनिङ कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार आचार्य, जन स्वास्थ्य अधिकृत मनिसा गैरे, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, महदेवा आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख राम्रा पौडेल, अन्य स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो।

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']