
गढवा, १८ पौष
गढवा गाउँपालिका वडा नम्बर – ८ कोइलाबासमा खानेपानीको समस्या देखिएको छ। पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो ।
गर्मी सुरु हुन नपाउदै पौष महिना मै डिब बोरिङको मुल सुकेपछी खानेपानीको समस्या देखिन थालेको गढवा गाउँपालिका वडा नम्बर – ८ का अध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो ।
कोइलाबासका करिव १२० घर परिवारलाई खाने पानीको समस्या भएको अध्यक्ष सिद्दिकीले बताउनुभयो। पर्यटकको आवागमन समेत बढी हुने समयमा खानेपानी अभाव हुँदा होटल व्यवसायमा समेत समस्य भएको होटल ब्यवसायी बताउँछन् ।
राप्तीको प्रवेश द्वारको रुपमा रहेको कोइलाबासमा खानेपानीको समस्या हुँदा कोइलाबासमा पर्यटक, होटल व्यवसाय लाई प्रत्यक्ष असर परेको देखिन्छ।अन्य प्रयोजनका लागि खोलाको पानी प्रयोग गर्न सकिन्छ तर खानाको लागि खोलाको पानि खाना योग्य नभएको स्थानीयहरु बताउछन्।
खानेपानीको अभावको कारणले गर्दा कोइलाबासमा रहेका बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई समेत समस्या भएको शान्ति पुनर्स्थापना गृह काेइलाबासकी सिमा जिसीले बताउनुभयो। पानी अभाव हुँदा मुख्य गरी अस्पतालमा तथा बिभिन्न संघ संस्थामा सरसफाई एवम् विशेषगरी शौचालय फोहोर र दुर्गन्धित हुनुका साथै सङ्क्रमणको समस्या हुने गरेको जिसीले बताउनुभयो। सरोकारवाला निकायहरुले खानेपानीको आपूर्ति सहज गराए राम्रो हुन्थ्यो जिसीले भन्नु भयो।
वडाध्यक्ष खालिक सिद्दिकीले खानेपानी आपुर्तिको लागि छिटै नै वैकल्पिक मुहान खोजी गरी वडाबासीलाई खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
