
देउखुरी, १६ पौष
महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई सिकलसेल एनिमिया सम्बन्धी एक दिने अभिमुखिकरण तालिम शनिवार राप्ति गाउँपालिकामा सम्पन्न भएको छ ।
क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राप्ति गाउँपालिका स्वास्थ्य संयोजक नारायण रावतको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष कमलापतिदेवि चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा प्रमुख अतिथि चौधरीले सिकलसेल एनिमिया रोगको पहिचान गरी न्यूनिकरण गर्न सम्पूर्ण सरोकारवालाको महत्वपूर्ण भूमिका रहने बताउनु भएको थियो ।
कार्यक्रममा सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले थारु समुदायका सबै व्यक्तिहरुले सिकलसेल एनिमियाको जाँच गराउनु पर्ने बताउदै संस्थाले प्रत्येक वर्ष शिविर मार्फत सिकलसेल जाचँको व्यवस्था गरेको जानकारी दिनुभएको थियो ।
त्यस्तै कार्यक्रमका सभाध्यक्ष तथा स्वास्थ्य संयोजक रावतले सिकलसेल एनिमियाको थप परीक्षणका लागि बिरामीहरुले धेरै कठिनाई भोगेको बताउदै देउखुरीमै इलेक्ट्रोफोसिस मेसिनका लागि प्रदेश सरकारसँग पहल भइरहेको बताउनु भयो र संस्थाले सिकलसेलको क्षेत्रमा गरेको कार्य निर्क सर्हानीय रहेको बताउनु भयो ।
सो कार्यक्रममा सिकलसेल एनिमियाको परिचय, लक्षण, परीक्षण, उपचार लगायतका विषयमा जानकारी गराइएको थियो । जसको प्रशिक्षकमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा चिकित्सा निर्देशक डा. रमेश कंडेलले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले सिकलसेलका विषयमा विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो । सहभागिहरुको जिज्ञासा मेटाउदै डा. कंडेलले यस रोगको परीक्षण, जनचेतना, विशेष परामर्श र युवायुवतीले बिहे गर्दा विशेष ध्यान दिनुपर्ने कुरालाई जोड दिनु भएको थियो ।
राप्ति गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा क्रियटिङ पोसिबिलिटिज नेपाल आमा समूहकी संयोजक सरिता चौधरी सहित राप्ति गाउँपालिकामा कार्यरत ५७ जना महिला स्वयंसेबिकाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण दीपा चौधरीले गर्नुभएको थियो ।
यस संस्थाले क्यानडास्थित युनिभर्सिटि अफ ब्रिटिश कोलम्बियाको सहयोगमा २०१५ देखि देउखुरीको राप्ति, गढवा र राजपुरमा सिकलसेल जाँचको स्वास्थ्य शिबिर, जनचेतना कार्यक्रमका गर्दै आइरहेको छ । साथै सिकलसेलको रगत परीक्षणमा सहयोग पुग्ने उदेश्यले स्वास्थ्य चौकीको सबलीकरणका कार्यक्रमहरू पनि गर्दै आइरहेको छ क्रियटिङ पोसिबिलिटिज नेपालका विध्यार्थी संयोजक तथा हेमराज शर्माले जानकारी दिनु भयो।
