
दाङ, ५ मंसिर
दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिनु भएको छ।
२ हजार ७८० मत गणना हुँदा एमालेका महासचिव पोखरेल शर्मा भन्दा ६०४ मतले पछाडि पर्नु भएको छ । सत्ता गठबन्धन दलको समर्थन पाउनु भएको रेखाले १ हजार ४५० ल्याउँदा पोखरेलले ८४६ मत ल्याउनु भएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याउनु भएको छ।
यो क्षेत्रमा हाल बगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिका वडा नम्बर १५ र १९ को मतगणना भइरहेको छ । स्थानीय तहको निर्वाचनमा पनि यो क्षेत्रमा सत्तारुढ गठबन्धनमा रहेका दलका उम्मेदवारले जितेका थिए ।
नेकपा एमालेका जिल्ला प्रचार विभागका संयोजक सविन प्रियासनले सत्ता गठबन्धन दलको प्रभाव रहेको क्षेत्रबाट मतगणना सुरु भएकाले महासचिव पोखरेल पछाडि परेको बताउनुभयो । उहाँले एमालेको प्रभाव क्षेत्रहरुमा गणना हुन बाँकी भएकाले अहिले नै हतार गर्न नहुने बताउनुभयो ।
‘एमालेको प्रभाव भएका क्षेत्रमा मतगणना हुँन बाँकी छ,’ उहाँले भन्नु भयो। ‘बाँकी वडाहरुमा एमालले नै लिड गर्छ ।’ अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको भन्दै महासचिव पोखरेलले भारी मतले जित निकाल्ने दाबी गर्नु भयो ।





