काठमाडौं। भारतीय खर्बपति मुकेश अब्बानी अध्यक्ष भएको रिलायन्स कम्पनीका उपाध्यक्ष आइटी इञ्जिनियर प्रकाश शाह जैन सन्यासी बनेका छन्। उनले आफ्नो सम्पूर्ण भौतिक सुख त्यागेर सन्यासी जीवन जिउने घोषणा गरेका हुन्।
एक वर्षअघि कोरोना महामारीको प्रकोप देखिएसँगै उनी आध्यात्मिक जीवनतिर ढल्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। योसँगै उनले आफ्नो सम्पूर्ण कर्पोरेट जीवन त्यागेका छन्। शाहले भौतिक सुख त्यागेर जैनमार्गको अनुशरण गर्ने घोषणा गरिसकेका छन्।
२२ अप्रीलका दिन उनले कर्पोरेट जीवन त्यागेको घोषणा गरेका थिए। जैनमार्ग अनुशरण गरेको दिन उनकी पत्नीले उनलाई भिक्षा दिएर उक्त घोषणा भएको थियो। अबउप्रान्त शाह भिक्षाको भरमा बाँच्नु पर्नेछ।
रिलायन्स कम्पनीका उपाध्यक्ष शाहको तलव प्रतिमहिना ६ करोड २५ लाख थियो। शाहले आइआइटी बम्बइबाट रासायनिक इञ्जिनियरिङमा बीटेक र एमटेक कोर्स पूरा गरेका थिए। त्यसपछि उनले रिलायन्स इन्डस्ट्रीज लिमिटेडसँग काम गर्न थाले, जहाँबाट उनी गत वर्ष उपाध्यक्ष (परियोजना) को रूपमा सेवानिवृत्त भए।
शाहको कान्छो छोरा धेरै पहिले जैन भिक्षु बनिसकेका छन्। शाहका छोराले पनि आइआइटी–बम्बइबाट रासायनिक इन्जिनियरिङमा बीटेक डिग्री हासिल गरेका थिए। उनले शैक्षिक प्रदर्शनीमा रजत पदकसमेत जितेका थिए। तर, उनी २४ वर्षको उमेरमा भिक्षु भएका थिए।
शाहका छोरा भिक्षु भएको पनि सात वर्ष बितिसकेको छ। छोरा भुवनजीतले भनेका छन्, ‘‘सानो छँदा म सधैं दीक्षा लिन प्रेरणा पाउँथें। सांसारिक जीवनको भौतिकवादी सुख र जैन तपस्वी जीवनको आध्यात्मिक आनन्दको बीचमा कुनै तुलना हुन सक्दैन।’’
उनले थपेका छन्, ‘‘मेरा आमाबुवाले मलाई प्रेरणा र समर्थन गर्नुभयो।’’ अनन्तः शाह पनि सात वर्षपछि छोराकै बाटोमा हिँडेका छन्।