नेपालले पाकिस्तानविरुद्ध बुधबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल १-० ले जितेको छ । त्यस जितमा अन्जन विष्टले ८३ औं मिनेटमा निर्णायक गोल गरे ।
गोलरहित पहिलो हाफमा दुवै टिमले उल्लेखनीय आक्रमण बुन्न सकेन । नेपालले खेल नियन्त्रणमा राखे पनि निर्णायक प्रदर्शन गर्न सकेन । दोस्रो हाफमा सब्टिच्युट खेलाडीका रुपमा आभास लामिछानेले डेब्यु गरे ।
दोस्रो हाफमा पनि दुवै टिमको आक्रमण कमजोर रह्यो । तर खेल सकिन सात मिनेट अगाडि सुनील बलको पासमा अन्जनले नजिकको दूरीबाट गोल गरे । नेपालका लागि यो उनको ११ औं गोल हो ।
नेपालले रोहित चन्दको नेतृत्व खेलेको यो पहिलोपल्ट हो । दशरथ रंगशालामा नेपालको यो ऐतिहासिक ५० औं खेल हो । प्रशिक्षक प्रवेश कटुवालले नेपाली टिम सम्हालेको पनि पहिलो अवसर हो ।
यस्तै पाकिस्तानले फिफाको निलम्बनपछि खेलेको यो नै पहिलो आधिकारिक खेल हो । प्रतिबन्धको कारण पाकिस्तान तीन वर्ष आधिकारिक फुटबलवाट बाहिर रहेको थियो ।