चन्द नेतृत्वको नेकपालाई सरकारको आग्रह : शान्तिपूर्ण रूपमा मतदानमा सहभागी हुनुहोस्

गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको जानकारी दिनु भएकाे छ ।

गृहमन्त्री खाँणले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग २ दिनअघि भैरहवामा वार्ता भएको जानकारी दिनुभयाे ।

मंगलबार रुपन्देहीको तिलोत्तमास्थित करौजियामा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहांले कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायत विषय वार्तामा छलफल भएको बताउनु भयाे । ‘पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीहरुलाई छोडिसकेका छौँ,’ गृहमन्त्री खाँणले भन्नु भयाे, ‘अन्यलाई पनि जेलमुक्त गर्न कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइसकेका छौँ ।’

गृहमन्त्री खाँणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको जानकारी दिनु भयाे। ‘उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड हुनेछैन । हामीले वचन दिएका छौँ,’ उहांले भन्नु भयाे ‘तर, मतदान बिथोल्न खोजे र मतदातालाई आतंकित पारे सरकार चुप लाग्न सक्दैन । यो पनि भनेका छौँ ।’

नेकपा वार्ता टोलीका संयोजक विश्वकर्माले काठमाडौंमा जारी रहेको उक्त पार्टीको बैठकमा प्रस्ताव राख्नु भयाे र सरकारसँग थप छलफल तथा सम्झौता गर्ने बताएको गृहमन्त्री खाँणले बताउनु भयाे ।

गृहमन्त्री खाँणले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र विद्रोहको बाटोमा लागेका समूहलाई मूलधारमा ल्याउने थरुहट समूहसँग पनि सरकारले वार्ताको पहल गरिरहेको बताउनु भयाे ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *