‘नो नट अगेन’विरुद्ध आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

‘नो नट अगेन’विरुद्ध आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । सामाजिक सञ्जालको पेज नो नट अगेन लगायतका पेजलाई प्रतिबन्ध लगाउने आयोगको निर्णयविरुद्ध अधिवक्ता अनिल आचार्यले आयोगको निर्णय खारेजीको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै नो भोटको व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा नो नट अगेनका पेजमाथि प्रतिबन्ध लगाउने निर्णय र चेतावनी कानुनसम्मत नभएको भन्दै अधिवक्ता आचार्यले त्यस्तो निर्णय बदर गराउन माग गरेका हुन् ।

जनताले मन नपरेका उम्मेदवारमाथि नो भोटको व्यवस्था गर्न नपाएको अवस्थामा जनताले स्वतस्फूर्तरुपमा नो नट अगेनको अभियान गर्दा निर्वाचन आयोगले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको रिट निवेदनमा जिकिर गरिएको छ ।

वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने गरी आयोगले विज्ञप्ति जारी गरेको भन्दै उक्त निर्णय र चेतावनी उत्प्रेषणको आदेशबाट बदर गर्दै नो नट अगेनलगायतका पेजहरु पूर्ववतरुपमा सञ्चालनमा ल्याउन परमादेश दिन समेत माग गरिएको छ ।

आयोगको सूचना अनुसार नो नट अगेन अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोवार ऐन अनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी थियो । रिट निवेदनमा त्यो सूचना निस्तेज बनाउनुपर्ने माग गरिएको छ । मंगलबार रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *