गुणस्तरीय शिक्षा नै आजको आवश्यकता: मन्त्री थारु

आलोक भावुक

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताउनु भएको छ। गढवा गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको पालिका स्तरीय बृहत शैक्षिक अन्तरक्रिया तथा छलफल सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री थारुले गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन तर्फ अग्रसर हुन आग्रह गर्नु भयो ।

‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो’, उहाले भन्नु भयो ।, ‘हाम्रो शैक्षिक स्तर स्वरोजगार उन्मुख हुनुपर्छ ।’ शैक्षिक नीतिलाई संशोधन गरी व्यवहारिक शिक्षा नीति बनाउनुपर्ने आवश्यकतालाई उहांले औंल्याउनुभयो । घोकन्ते विद्याले मात्र राम्रा जनशक्ति उत्पादन गर्न नसकिने उहाँको भनाई थियो । गढवा गाउँपालिकाले शैक्षिक उन्नयनमा पुर्याएको योगदानको प्रशंसा समेत गर्नु भयो । शैक्षिक गुणस्तर वृद्धि विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्वपूर्ण हुने उहाँको तर्क थियो । कार्यक्रममा बोल्दै मन्त्री थारुले आगामी दिनमा प्राविधिक शिक्षालाई समेत बिशेष जोड दिई दक्ष जनशक्ति उत्पादनमा उल्लेखनिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । मन्त्री थारुले प्राविधिक शिक्षालाई जोड दिनुपर्छ भन्ने उद्देश्यले लुम्बिनी सरकारले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ लुम्बिनी सरकार अगाडि बढीरहेको बताउनुभयो ।मन्त्री थारुले शैक्षिक स्तरको सुधारका लागि लुम्बिनी सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो । ‘संघीय सरकारसँग समन्वय गरी सामूदायिक विद्यालयमा पनि बोर्डिङ स्कुलमा जस्तो सेवा प्रवाह गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो।

गढवा गाउँपालिका शिक्षा समितिका अध्यक्ष एवं गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य सम्पन्न भएको अन्तक्रिर्या कार्यक्रममा गढवा गाउँपालिकाका सामुदायिक तथा निजी विध्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापक, गढवा गाउँपालिकाको कार्यपालिका सदस्यहरुको बिशेष उपस्थितिमा छलफल गरिएको हो । छलफल कार्यक्रम बोल्ने बक्ताहरुले बर्तमान अवस्थामा शिक्षामा देखापरेका समस्या लाई कानुन सम्बत् निराकरण गर्न आवश्यक रहेको भन्दै पालिका लाई अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै शिक्षा समितिका अध्यक्ष एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पढ्दै कमाउदै कार्यक्रम सञ्चालनका लागि छनोट भएका विद्यालयलाई सम्बन्धित स्थानीय तह मार्फत पेश गरेको प्रस्ताव र आवश्यकताका आधारमा सशर्त अनुदानको रुपमा रकम उपलब्ध गराइने कार्यविधि अनुसार सहयोग गर्ने बताउनु भयो। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सीपयुक्त एवम् स्वाबलम्बी नागरिक उत्पादन गर्ने उद्देश्य कार्यविधिले राखेको भन्दै त्यस तर्फ पनि अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो।  विध्यालयको प्रशासन दुरुस्त पार्न सुझाव समेत दिनुभयो।

बिना जानकारी विध्यालयमा ढिलो आउने शिक्षक लाई कार्बाही गर्ने बताउदै समयमा विध्यालय नजाने, हाजिर भएर व्यक्तिगत काममा जाने लाई निगरानी गर्न विध्यालय व्यवस्थापन समिति र अभिभावक लाई सुझाव दिनु भयो। गुणस्तरीय शिक्षा लाई ध्यानमा राखी शिक्षक न्युक्ति र दरबन्दी मिलानको विषय छिट्टै समाधान हुने बताउनु भयो। पढ्दै कमाउदै कार्यक्रमको बारेमा जनज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलले आफ्नो विध्यालयले गरेको उदाहरणीय कामको उदाहरण दिदै सर्च रिसर्च र खर्च गर्न आवश्यक रहेको बताउनुभयो। नेपालमा घोकन्ते शिक्षाले १९% मान्छे मात्र रोजगार पाएको भन्दै ८१ प्रतिशत बिध्यार्थी बेरोजगार रहेको भन्दै पढ्दै कमाउदै कार्यक्रम लाई ब्यवहारीक बनाउन सुझाव दिनुभयो। गढवागाउँपालिका वडा नम्बर – १ का वडाध्यक्ष बाबुराम अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षाशाखा अधिकृत श्याम बहादुर बिकले गर्नु भएको थियाे ।

मा प्रकाशित