पशुपतिनाथमा राखिएको जलहरीबाट सुन गायब !

गणतन्त्र नेपाल समाचारदाता

पशुपतिनाथको मूल मन्दिरमा सुनको जलहरी राख्ने बेलामा ‘सुन गायब भएको’ पाइएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले १०७ किलो ४९० ग्राम सुन राखिएको भनिएकोमा सुन, तामा, धातु, चाँदी र जिङ्कको प्रयोग गरी सुन गायब बनाइएको औँल्याएको छ ।

पशुपति क्षेत्र विकास कोषले जलहरीमा ९६ किलो ५१४ ग्राम सुन प्रयोग भएको र बाँकी १० किलो ९७६ ग्रामको रिङ बनाइएको जनाएको छ । तर, महालेखाको प्रतिवेदनले जलहरीमा एक किलो २४९ ग्राम चाँदी, दुई किलो ८९० ग्राम तामा, १२ किलो ७५० ग्राम जिङ्क मिसावट गरी सुन गायब बनाएको बताएको छ ।

महालेखाले जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने कुनै पनि विवरण पेस नभएको जनाएको छ ।

सुनको जलहरी राख्ने काम प्राचीन स्मारक ऐन २०१३ विपरीत रहेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि कोषले जलहरी नेपाली सेना र नेपाल प्रहरीको सुरक्षामा निर्माणको काम थालेको थियो । त्यसका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रुपैयाँमा खरिद गरिएको थियो ।

पशुपतिको शिवलिंगमा सुनको जलहरी राख्न नहुने भन्दै लामो समय विवाद भएको थियो । पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा जलहरी राख्ने काम अघि बढेको थियो ।त्यसकै आधारमा कोषले गोप्य रूपमै जलहरी उद्घाटनको समय तोकेको थियो ।

ओली नेतृत्वको सरकारले ३० करोड र बाँकी कोषको लागतमा सुन खरिद गरिएको थियो । ११ किलो सुन गायब भएको भन्दै उतिखेरै अख्तियारमा उजुरीसमेत परेको थियो  ।

 

मा प्रकाशित