पार्टीको भक्ति गाउने नेता रहेसम्म वैज्ञानिक चेतनाको विकास हुन सक्दैन : नेता भूसाल

गणतन्त्र नेपाल समाचारदाता

नेकपा एमालेका नेता घनश्याम भूसालले राजनीतिक दलहरूमा पार्टीको भक्ति गर्ने नेता रहुन्जेल वैज्ञानिक चेतनाको विकास हुन नसक्ने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राम्रो राष्ट्रको परिकल्पना गर्न राम्रो राजनीति चाहिने र त्यो राजनीतिक दलमा रहने भएकोले राजनीतिक दलहरु सुध्रिनुको विकल्प नरहेको उल्लेख गरे ।

नेता भूसालले नेपाली कांग्रेसले वि.सं. २०१२ सालतिरको बीपीको प्रजातान्त्रिक वैज्ञानिक समाजवाद, एमालेको समृद्ध नेपाल, सुखी नेपाली, २१ औँ शताब्दीको वैज्ञानिक समाजवाद र एकीकृत समाजवादीको यात्रा समृद्धिको लक्ष्य समाजवादको नारा नारामै सीमित रहेको बताए । कुनै पनि दलले नारा ल्याए पनि कसरी बनाउने भन्ने योजना पुष्टि गर्न नसकेको उनले बताए ।

‘राम्रो राष्ट्रको परिकल्पना गर्ने हो भने राम्रो राजनीति चाहियो । राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहियो । खराब पार्टीहरु भएको मुलुकको राम्रो भविष्य हुँदैन । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी हो,’ उनले भने ।

राजनीतिमा भएका टाठाबाठाको चेतना वैज्ञानिक नभएको पनि उनको भनाइ छ । ‘माथिको रुलिङ क्लासले गाडी र सारीवाला क्लाससँग लगनगाँठो जोड्छ र राष्ट्र दोहन गरेर बस्छ, साइन्स मर्छ, ज्ञान मर्छ, चेतना मर्छ । हामीलाई पार्टीको भक्ति गाउने मान्छे पार्टीमा चाहिएको छ, अनि हामी कल्पना गर्छौं वैज्ञानिक चेतनाको । ती मान्छेहरु सत्तामा गएर वैज्ञानिक चेतना आउँछ ? आउँदैन,’ उनले भने ।

नेता भूसालले पुँजीपति वर्गसँगको साँठगाँठमा नै नेतृत्व वर्ग रहेसम्म देशमा वैज्ञानिक समाजको परिक्ल्पना हुन नसक्ने बताए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID