अन्धाधुन्ध गोली प्रहारले रुसमा सात बालबालिकासहित नाै जनाको मृत्यु

रुसमा विद्यालयमा हुने अन्धाधुन्ध गोलीकाण्ड दुर्लभ रहँदै आएको छ ।

एजेन्सी

रुस । रुसको कजान शहरस्थित विद्यालयमा भएको अन्धाधुन्ध गोलीकाण्डमा सात बालबालिका र दुई शिक्षकको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।

गोली लागेर अरु २१ जना घाइते भएको र अधिकांश बालबालिका रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली प्रहार गरेको अभियोगमा १९ वर्षका युवालाई पक्राउ गरिएको छ । मस्कोबाट ८२० किलोमिटर पूर्वमा रहेको तातार्स्तानको राजधानी कजानमा घटना भएको हो । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनले घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन् ।

तातार्स्तानका नेता रुस्तम मिनिखानोभले आक्रमणबाट आफू ठूलो शोकमा परेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाप्रति दुःख व्यक्त गर्दै देशको बन्दुक नियन्त्रणसम्बन्धी कानूनमा पुनर्मूल्यांकन गर्ने बताएका छन् । रुसमा विद्यालयमा हुने अन्धाधुन्ध गोलीकाण्ड दुर्लभ रहँदै आएको छ ।

नेपाली समय अनुसार मंगलबार मध्यरात १२ बजेपछि भएको घटनामा चार छात्र र तीन छात्रा तथा एक शिक्षिका र अर्की एक सहयोगीको ज्यान गएको हो । स्कूल नम्बर १७५ मा भएको घटनामा मारिनेमा कक्षा ८ का छात्रछात्रा हुन् । उनीहरुको उमेर १५ वर्षको हाराहारीमा रहेको छ । घटनामा १८ छात्रछात्रा तथा तीन शिक्षक शिक्षिका घाइते भएका छन् ।

मा प्रकाशित