किसानले गर्न थाले मार्सी धानको बीमा

गणतन्त्र नेपाल समाचारदाता

जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् ।

पातारासी– ३ का किसान कृष्णबहादुर महताराले दुई हजार ७२५ वर्गमिटर जग्गामा मार्सी धान रोपेका छन्। दुई साताअघि मात्रै प्रिमियमबापत् ३३५ रुपैयाँ तिरेर उहाँले धानखेतको बीमा गरेका छन्। अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बीमाबापत रु २६ हजार ५०० उनले प्राप्त गर्नेछन् ।

सोही वडाका पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सीधानको बीमा गरेका छन्। रु २६० प्रिमियम रकम तिरेर बीमा गरेका किसानले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन्। मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुनेगर्छ।

केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो। मार्सी धानमा रोगकीराको सङ्क्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमासमेत कमी आउन थालेको किसान बताउँछन्। बीमा सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दिपदर्शन फडेराले जानकारी दिए ।

कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बीमा गरेका छन्। छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ। दुई हजार ८५० मिटर उचाइमा फल्ने सो धानको पहिचान बचाउन पनि बीमा थालिएको कम्पनीले जनाएको छ।

कृषि क्षेत्रको बीमाको लागि सरकारले ८० प्रतिशत रकम व्यहोर्दै आइरहेको छ। बाँकी २० प्रतिशत रकम व्यहोर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बीमा गरेको शिखर बीमाले जनाएको छ ।

मार्सीधान जुम्लाको पहिचान भएकाले बीमा कार्यक्रम सुरुवात गरिएको छ । जिल्लामा प्रतिरोपनी मार्सी धानखेती गर्न किसानको रु चार हजार ९६५खर्च हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बीमाबापत किसानले सरकारले व्यहोर्ने रकम कटाएर प्रतिरोपनी ५० का दरले प्रिमियम तिरिरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले जानकारी दिए । जिल्लाभर झण्डै तीन हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब एक हजार ५०० हेक्टरमा कालीमार्सी धानको खेती हुने गरेको कार्यालयले जनाएको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID