
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको बताएका छन्।
बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका हुन्।
‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ, उहाँको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश गएको छ। संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ,’ प्रचण्डले भने।
शर्माले राजीनामा नगरे यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने डिजाइन भएको प्रचण्डको भनाइ छ।
‘उहाँले राजीनामा नगरेको भए विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो। त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ। यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ,’ प्रचण्डले भने।
शर्माको राजीनामाले राजनीतिक संस्कारको विकास भएको पनि उनले दाबी गरे।
‘कतपियले यसलाई माओवादीलाई अपमानित गर्न प्रयोग गर्छन् तर यसलाई नयाँ तरिकाबाट लैजान जरूरी छ,’ प्रचण्डले भने।
आर्थिक वर्ष २०७९/०८०को बजेट बनाउँदा अनधिकृत मानिसलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।





