‘पार्टीबाट अपराधी जस्तो व्यवहार भयो, गल्ती महसुस नगरे जे पनि हुन सक्छ’

गणतन्त्र नेपाल संवाददाता

नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै गल्ती महसुस नगरेर आफूहरु जुनसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी दिएका छन् । उनले अहिले नै पार्टीभित्र आफूहरुले विग्रह र विभाजनको कल्पना नगरेको तर ‘डिलमा पुर्‍याएर लात्तिले हान्न खोजे जे पनि हुने’ बताए ।

‘पार्टीमा विभाजन, बिग्रह आउने कुरा हामीले सोचेका छैनौं तर डिलमा पुर्‍याएर लात्ताले हिर्कायो भने त जे पनि गर्न सक्छौं नि’ मन्त्री श्रेष्ठले भने,’ हामीले पार्टी छोड्ने कल्पना अहिलेसम्म गरेका छैनौं । तर परिस्थिति त्यस्तो बनाइदियो भने जे पनि हुन सक्छ ।’

उनले बजेट पास भएपछि छोड्छौैं भन्दा पनि पार्टीले त्यो कुरा नसुनेकोमा उनले गुनासो गरे । ‘हामी पार्टीले गरेको निर्णय मान्छौं त्यसमा दुईमत छैन । हामी एकमत छौं,’ उनले भने, ‘तर बजेट पास भएपछि हामीले छोड्छौं भनेकै हौं । त्यसो भन्दा सुख पाइएन अपराधी जस्तो व्यवहार भयो ।’ उनले पार्टीबाट मन्त्री भएकाहरु कसैलाई राख्ने र कसैलाई हटाउने कदम अनुचित भएको बताए ।

‘असोज २२ गते हामी ५ जनाले शपथ खाएको हो । निकाल्दा पाँचै जनालाई निकाल्नुपर्छ । कसैलाई काखा कसैलाई पाखा गर्न पाइँदैन,’ उनले भने । अहिले नेकपा एसबाट राज्यमन्त्री रहेका भवानी खापुङलाई मन्त्रीबाट बढुवा गर्ने सिफारिस गरेको छ । अन्य चार जना मन्त्रीलाई हटाएर नयाँ पठाउन लागिएको छ । एउटै जिल्लाबाट दुई जनालाई मन्त्रीमा सिफारिस गरिएकोमा पनि असन्तुष्टहरुको आपत्ति छ ।

‘हामी चारै जनाले स्थानीय निर्वाचनभन्दा अघि श्रद्धेय अध्यक्षलाई भेटेर हामी मार्गप्रशस्त गर्न तयार छौं तर हामीलाई पहिले जानकारी होस् है भनेका थियौं । सकिन्छ एक हप्ताको सकिंदैन २४ घण्टा अघि,’ उनले भने,’यो पार्टी बनाउन त हाम्रो पनि योगदान छ नि । राजनीतिक जीवन धरापमा पारेर आएको हो नि । अहिले वडा सदस्य समेत नभएकाहरुले पार्टीमा हालिमुहाली गरेको हामीलाई मान्य हुँदैन ।’

उनले पार्टीले गल्ती महसुुस गर्नै पर्ने बताए । ‘पार्टीले हामी पनि कार्यकर्ता हौं भन्ने ठानेर गल्ती महसुस गर्नुपर्‍यो त्यसमा पार्टीप्रति हामी बफादार छौं । पार्टीले गरेको निर्णय स्वीकार्छौं । तर पार्टीले गल्ती रियलाइज गर्नुपर्‍यो त्यो भयो भने सौहार्द्ध हुन्छ । होइन ‘हाकी खेल्ने’ हो भने ‘हाकी खेल्दा’ जे पनि हुनसक्छ ।’

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID