सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् ।
चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए । आगामी चुनावमा कहाँबाट लड्ने भनेर चाहिं उनले खुलाएनन् । आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको अनुमान गरेको लामिछानेले बताए ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझबुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने अवधारणा राखेका उनले आफ्नो पार्टीमा परिवारवाद निषेध र युवा सहभागीता ५० रहने बताए ।
कार्यकर्ताविनाको पार्टी हुने भन्दै उनले पार्टीमा उम्मेदवार बन्न पहिले पार्टीभित्रबाट चुनिने व्यवस्था गरिने बताए । आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले राम्रो काम नगरेमा उनीहरुलाई फिर्ता बोलाइने पनि बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिक घरानाबाट चन्दा संकलन नगर्ने घोषणासमेत गरेका छन् । पार्टीका सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने उनले बताए ।
लामिछानेले व्यापारी व्यवसायीले ढुक्क भएर व्यापार गरेर सरकारलाई नियम अनुसार कर तिरे मात्र पुग्ने बताए । पार्टी घोषणा कार्यक्रममा कलाकारहरु प्रेमराजा महत, किरण केसी, राजाराम पौडेल लगायत पनि सहभागी थिए ।
कहाँबाट चुनाव लड्लान् रवि लामिछाने ? ।
सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् । ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको लामिछानेले बताए । राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझवुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए ।