चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले एक व्यक्तिको डेराबाट पेस्तोल बरामद गरेको छ ।
मोरङको बूढीगङ्गा गाउँपालिका-६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट प्रहरीले चाइनिज पेस्तोल र एक राउण्ड गोली बरामद गरेको हो ।
चोरीको मोटरसाइकलसहित उनी आज बिहान पक्राउ परेका थिए । सुनसरीको दुहवी नगरपालिका-३ मा डेरा बस्दै आएका उनको साथबाट प्रहरीले चोरीको को ३२प ८९७९ नम्बरको मोटरसाइकल बरामद गरेको थियो । दुहवीस्थित डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोल बरामद गरेको हो ।
मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी गर्ने क्रममा चौधरी पक्राउ परेको र उनको डेराबाट पेस्तोल बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनको डेराबाट एउटा चाइनिज पेस्तोल, म्यागजीन र एक राउन्ड गोली फेला परेको हो ।
विनोदको साथबाट बरामद भएको मोटरसाइकल श्रीकृष्ण तामाङको रहेको प्रहरीले बताएको छ । गत माघमा तामाङको मोटरसाइकल उदयपुरका विवेक चौधरी र मोरङको बूढीगङ्गाका सञ्जय चौधरीले चोरी गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार विवेक र सञ्जयले मोटरसाइकल चोरीपछि बूढीगङ्गा-६ का २९ वर्षीय मुकुन्द चौधरीलाई बेचेका थिए ।
मुकुन्दले विनोदलाई बिक्री गरेका थिए । चोरीमा संलग्नसँग मोटरसाइकल किनेर तेस्रो व्यक्तिलाई बेच्ने काम मुकुन्दले गर्ने गरेको प्रहरीको दाबी छ ।
प्रहरीले को ३२प ८९७९ नम्बरको मोटरसाइकल खोजी गर्ने क्रममा चोरी र बिक्रीमा संलग्न विवेक, सञ्जय, मुकुन्द र विनोदलाई पक्राउ गरेको छ ।
मोटरसाइकल चोरीका घटना बढेपछि प्रहरीले मोरङमा विशेष अप्रेशन चलाएको छ । पछिल्लो एक महिनाको अवधिमा प्रहरीले चोरीका २१ वटा मोटरसाइकल फेला पारेको छ । सोही अवधिमा ४५ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको छ ।
मोटरसाइकल चोरीमा संलग्न १६ जनालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।