अहिले अर्थमन्त्री फेर्ने पार्टीको कुनै नीति छैन – प्रचण्ड

‘अर्थमन्त्री फिर्ता बोलाउने भनेर जेजे हल्ला चलाइएको छ । यो बदनाम गर्न फैलाएको अफवाह र पार्टीविरुद्धको षडयन्त्रबाहेक केही होइन’,

गणतन्त्रनेपाल समाचारदाता, काठमाडौं, ३० जेठ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीतिसमेत नरहेको प्रस्ट पारेका छन् ।

केही अनलाइन सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई आइतबार खुमलटारमै बोलाएर ‘राजीनामा मागेका’ समाचारहरू सार्वजनिक भएका थिए ।

तर, अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको राजीनामासँग जोडेर आएका कुनै पनि समाचार बदनाम गराउन फैलाएको अफवाह र षडयन्त्रबाहेक अरू केही नभएको भन्दै शर्मासँगको आइतबारको भेटमा पार्टी संगठनका बारेमा कुराकानी भएको प्रस्ट पारे ।

‘अर्थमन्त्री फिर्ता बोलाउने भनेर जेजे हल्ला चलाइएको छ । यो बदनाम गर्न फैलाएको अफवाह र पार्टीविरुद्धको षडयन्त्रबाहेक केही होइन’, बर्दियामा रहेका अध्यक्ष प्रचण्डले भनेका छन्,‘ अर्थमन्त्रीले पार्टीको नीति निर्देशनमै काम गरिरहनुभएको छ । अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति छैन ।’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टी र सरकारमा गएका मन्त्रीहरू बदनाम गर्न षड्यन्त्रपूर्वक ढङ्गले यस्ता हल्लाहरू चलाइएको हुनसक्ने बताए ।

‘आइतबार म र अर्थमन्त्रीबीच पार्टी संगठन कसरी मजबुत बनाउने भन्ने विषयमा कुराकानी भएको हो । अर्थमन्त्रीले अहिले पार्टीको नीतिअनुसार नै काम गरिरहनुभएको छ । पार्टीको नीति निर्देशनमै काम गरिरहेको मन्त्रीलाई हटाउनुपर्ने कुनै कारण छैन’, पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भनेका छन् । उनले षडयन्त्रकारीहरूले फैलाएको हल्लामा कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे ।

यसैबीच माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि अर्थमन्त्री हटाउनेबारे पार्टीभित्र कुनै छलफल नभएको बताए ।

‘अर्थमन्त्री वा अरू कुनै मन्त्रीहरू फिर्ता बोलाउने भन्ने पार्टीमा छलफल नै भएको छैन, छलफल नै नभई कसरी यस्तो कुरा आयो ?’, नेता पुनले भनेका छन् । माओवादी केन्द्रका अर्का नेता शक्ति बस्नेतले पनि अर्थमन्त्री फिर्ता बोलाउने भनेर आएको समाचारप्रति आश्चर्य व्यक्त गरे । उनले भने, ‘पार्टीमा यसबारे केही कुरा भएको छैन, एक्कासी कहाँबाट हल्ला आयो, मलाई पनि थाहा भएन’, बस्नेतको भनाइ छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID