माधव नेपालबाट पार्टीलाई पछार्ने घातक प्रयास भयो – ओली

उनले पार्टीलाई हानी बनाउने वा आन्दोलनलाई क्षतविक्षत बनाउने कुनै पनि क्रियाकलापमा पार्टीका इमान्दार नेता कार्यकर्ता संलग्न नहुने विश्वास पनि व्यक्त गरेका छन् ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहबाट आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भएपनि पार्टीलाई पछारि छाड्ने हानिकारक प्रयास भएको बताएका छन् । माधव नेपाललगायतमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या रहेको भन्दै ओलीले पार्टी आन्दोलनलाई कसैको स्वार्थपूर्ति वा त्यसको शिकार बनाउन नहुने बताएका छन् ।

संसदमा विश्वासको मत लिने पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने घातक प्रवृत्ति पार्टीमा देखापरेको भन्दै पार्टी विरोधी कामलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी पार्टीलाई पछारि छाड्ने हानिकारक प्रयास भएको ओलीको गुनासो छ ।

उनले पार्टीलाई हानी बनाउने वा आन्दोलनलाई क्षतविक्षत बनाउने कुनै पनि क्रियाकलापमा पार्टीका इमान्दार नेता कार्यकर्ता संलग्न नहुने विश्वास पनि व्यक्त गरेका छन् ।

यस्तो छ, प्रधानमन्त्री ओलीको प्रेस वक्तव्यः

राणा शासनको अन्धकार युगमा सुन्दर भविष्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको बामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको छ। राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ। जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी– नेकपा (एमाले) लाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको हो।

कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या छन्। यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन। आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोस क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्ने जस्ता हानिकारक प्रयास भएका छन्। कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखापरेका छन्। यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन्।

के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौँ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु। यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो। यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु।

भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन। म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु।

धन्यवाद

केपी शर्मा ओली
अध्यक्ष

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID