विपद् व्यवस्थापन पूर्वतयारीका बारेमा सरकारलाई सांसद र विज्ञको आग्रह

गणतन्त्रनेपाल समाचारदाता, दाङ

मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। यसवर्षको मनसुनजन्य विपदबाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञले बताइरहेका छन्।

यस वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ। जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन्। यस वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट पश्चिमका क्षेत्रमा अत्यधिक वर्षा हुने मौसमविद्हरुको आँकलन छ।

 

त्यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरूको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पुर्‍याउनुपर्ने बताइन्। उनले बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्रै सारेर बेलैमा व्यवस्थापन गर्नुपर्ने बताइन्।

सचेतक भुसालले विगतका घटनाबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताइन्। सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्।

 

‘सरकारले बाढी आउने ठाउँका बसोवासलाई अन्यन्त्र सारेर भए पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यस्तै खेती, बालीलाई नोक्सान हुन नदिन सरकारले विभिन्न किसिमका राहतका कार्यक्रम किसान समक्ष पुर्‍याउनुपर्ने अवस्था पनि हुन्छ। कतिपय पहिरोले घरहरु पुरिएर बिस्थापित हुनुपर्ने अवस्था छ’, उनले भनिन्, ‘त्यसको तथ्यांकहरु र विगतको घटनाहरुलाई लिँदै आएर त्यो घटनाहरु फेरि नदोहोरियोस् भन्नका लागि सरकारले विशेष रुपबाट बजेटबाट र विभिन्न कार्यक्रम र योजना ल्याउनुपर्छ। तत्कालै राष्ट्रिय बजेटबाट योजना र कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउनका लागि पनि विशेष बजेटको व्यवस्थाहरु गर्नुपर्ने हुन्छ।’

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताए। उनले मनसुनबाट हुने क्षतिलाई अहिले नै अनुमान गर्न नसकिने भन्दै कमभन्दा कम क्षति हुनेगरी पूर्वतयारीमा जुट्नुपर्ने बताए।

घटनापछि तत्काल ‘रेस्पोन्स’ गर्न सक्नुपर्ने उनले बताए।

‘विपद् व्यवस्थापन प्राधिकरण नै छ। सरकारको मातहतमा । त्यसो हुँदा तयारी गरेको होला भन्ने हो। सम्भावित विपद् बाढी, डुबान, पहिरो लगायतका अहिलेका सिजनमा हुने विपद्को तयारी गरेकै छ। तयारी आफ्नो ठाउँमा छ । खासगरी मनसुनबाट हुने क्षति अनुमान नै गर्न सक्दैनौं। कमभन्दा कम क्षति हुनेगरी तयारी र घटना घटिसकेपछि त्यसलाई रेस्पोन्स गर्ने हुनुपर्छ,’ उनले भने।

नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्यधिक रूपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताए। उनले विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने बताए।

विपद्को सम्बन्धमा सरकारले सचेतना फैलाउनुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर राख्नुपर्ने पनि उनको भनाई छ। उनले सरकारले कुनै पूर्वतयारी नगरेको बताए।

सांसद पाठकले विपद् व्यवस्थापनमा स्थानीय तहले विशेष रूपमा ध्यान दिनुपर्ने बताए। उनले स्थानीय तहले पनि पर्याप्त बजेट विपत व्यवस्थापन र पूर्वतयारीका लागि छुट्याउनुपर्ने बताए। साथै विपद् परेको अवस्थामा तत्काल उद्धार गर्नका लागि एउटा युनिट गठन गरिराख्न पनि उनले स्थानीय तहलाई आग्रह गरे।

‘बाढी, पहिरोमा बढी क्षति किन भयो भन्दा गाउँघरमा जथाभावी डोजर हालेर हो। वातावरणीय प्रभावको मूल्यांकन छैन। जता पनि डाँडा कोतरेको छ। जता पनि करेसाबाट बाटो लगेको छ। हिउँदमा करेसाबाट बाटो खनेको छ । बर्खा घर गएको छ। त्यसकारणले यस्ताखालका विकास निर्माणका कामहरुमा पनि हामीले गम्भीरतापूर्वक छलफल गर्नुपर्छ’, उनले भने, ‘डोजरे विकासको अन्त्य गर्ने । सरकारले सचेतना फैलाउने। सरकारले बजेट पर्याप्त विनियोजन गर्ने। सरकारले तत्काल रेस्पोन्स गर्न रेस्पोन्स टिमहरु गठन गर्ने। स्थानीय तह नीति, कार्यक्रम, बजेट बनाउने ठाउँमा हुनुहुन्छ। पहिलो कुरा, विपद् व्यवस्थापनका लागि एउटा युनिट गठन गर्नुस्। र त्यसमा बजेट पर्याप्त राख्नुस्।’

त्यस्तै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यसवर्ष प्रदेश १ को हिमाली भूभाग र मधेश प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताए।

उनले विशेष गरी काठमाडौंबाट पश्चिमका क्षेत्रहरुमा बढी पानी पर्ने भएको भन्दै सरकारले त्यसअनुसार पूर्वतयारी थाल्नुपर्ने बताए।

उनले हरेक जिल्लामा पूर्व सूचना प्रणालीको विकास गरेर र सुरक्षा निकायलाई सजग गराएर राख्नुपर्ने अवस्थाको थालनी गर्न ढिलाइ गर्नुनहुने बताए।

‘जल तथा मौसम विज्ञान विभाग, भारतको मौसम विभाग र दक्षिण एसियाको मौसम विभागले लामो समयको प्रक्षेपण गरेको छ, त्यो हेर्दा नेपालको पश्चिमी क्षेत्र र प्रदेश १ को हिमाली क्षेत्र बाहेक र मधेश प्रदेशको केही भूभागमा अलि कम पर्ने र बाँकी भागमा कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा यस वर्ष औसतभन्दा बढी पानी र वर्षा हुने प्रक्षेपण गरिएको छ। यस वर्ष १७ लाख मानिस प्रभावित हुने प्रक्षेपण छ,’ उनले भने।

विज्ञ उप्रेतीले ७५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपतकालिन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्व तयारी थाल्नुपर्ने बताए। बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकोले त्यसतर्फ सचेत रहनुपर्ने बताए।

 

मा प्रकाशित