जापानमा बस्ने युवाहरूको पहलमा सञ्चालन हुँदैछ जनप्रतिनिधिले वास्ता नगरेको एम्बुलेन्स सेवा

गणतन्त्रनेपाल समाचारदाता, दाङ

२०७४ को पहिलो स्थानीय तह निर्वाचनपछि बनेका गाउँका स्थानीय सरकारले आफ्ना थुप्रै महत्वाकांक्षी योजनाहरू बनाए।

स्थानीय नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरूमध्ये बाटो, खानेपानी, स्वास्थ्य, सिँचाइ, विद्युत, शिक्षाजस्ता कुरालाई महत्वपूर्ण योजनामा राखेर काम अघि बढाए।

कर्णालीका सडक पहुँच नभएका पालिकामा स्थानीय सरकारले सडक योजनालाई महत्वका साथ अगाडि बढाए। सडक पहुँच पुगेका क्षेत्रमा यातायातलाई महत्व दिए।

 

सडक पहुँच भएका केही पालिकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन एम्बुलेन्सलाई महत्व दिए।

सुर्खेतको वीरेन्द्रनगर, चौकुने, दैलेखका चामुण्डाविन्द्रासैनी लगायतका पालिकाले एम्बुलेन्स किनेर सञ्चालनमा ल्याए।

सल्यानको छत्रेश्वरी गाउँपालिकाले त ७ वटा वडाहरूमध्ये ४ वडामा चारवटा एम्बुलेन्स किनेर सञ्चालन गर्‍यो।

छत्रेश्वरीले सुरूमा बाह्रै महिना चल्ने सडक बनाएर सबै वडाहरूलाई सडकको पहुँचमा पुर्‍यायो। त्यस सँगसँगै एम्बुलेन्स पनि किन्यो। ती चारवटा वडामा अहिले पनि आवश्यकता अनुसार एम्बुलेन्सहरू उपलब्ध हुन्छन्।

स्वास्थ्य सेवामा कमजोर दुर्गममा पर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाले सडकको आंशिक पहुँच भए पनि बिरामीका लागि एम्बुलेन्स किनेर सञ्चालन गर्ने कुरा पहिलो सरकारको कार्यकालमा सोचेन।

जुनीचाँदे गाउँपालिका मात्र होइन, जाजरकोटका कुनै पनि पालिकाले एम्बुलेन्स सञ्चालन गरी नागरिकलाई सर्वसुलभ सेवा दिनेबारेमा खासै चासो दिएनन्।

जुनीचाँदे गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो कार्यकालभर वास्ता नगरेको एम्बुलेन्स सेवा अब जापानमा बस्दै आएका युवाहरूले सञ्चालन गर्ने भएका छन्।

जापान बस्ने युवाहरूको पहल र आर्थिक सहयोगमा जुनीचाँदे गाउँपालिका मातहतमा रहनेगरी पहिलोपटक एउटा एम्बुलेन्स सञ्चालन हुँदैछ।

रोजगारीको शिलशिलामा जापान गएका जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटका युवा खिमराज शाहको नेतृत्वमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको हो।

उनले जापानमा रहेका नेपाली युवाहरूसँग समन्वय गरी रकम जुटाएर एम्बुलेन्सका लागि नेपाल पठाएका छन्।

‘स्थानीय सरकार बनेको लामो समयसम्म पनि गाउँपालिकामा एम्बुलेन्स चाहिन्छ भनेर कोही जनप्रतिनिधिले पनि वास्ता गर्नुभएन, मेरो वडाको अध्यक्षसँग यो बारेमा कुरा गर्न खोजेको थिएँ। तर उहाँ निलम्बन पर्नुभयो,’ शाहले गणतन्त्रसँग भने, ‘एक पटक त मैले गाउँपालिकाको उपाध्यक्षसँग पनि कुरा गरेको थिएँ, उहाँले वास्ता नगरेपछि आफैंले पहल गर्नुपर्छ भन्ने लागेर एम्बुलेन्सको लागि रकम जुटाउन थालेको हुँ।’

दुर्गममा पर्ने गाउँपालिकाको पनि दुर्गम गाउँहरूबाट मानिसलाई स्वास्थ्य केन्द्रसम्मा लैजान डोकोमा बोक्नुपर्ने पीडादायक अवस्थाले आफूलाई यो सोच आएको शाहले बताए।

‘गाउँपालिकाका पदाधिकारीहरूको गाडीमा सवारी हुन्छ, बिरामीहरूलाई आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा जान पनि घण्टौं समय लाग्ने पैदल दूरी पार गर्नुपर्छ,’ उनले भने, ‘विदेशमा बसेर पनि यो अवस्थालाई कम गर्न सकिन्छ भन्ने मलाई लागेको हो, एम्बुलेन्स भएपछि सायद त्यो समस्या समाधानको सम्भव छ जस्तो लागेको छ।’

विदेशमा बसेका युवाहरूले आफ्नो कमाइको हिस्सा लगाएर एम्बुलेन्स किनेपछि यसको दीगोपना र निरन्तरताका लागि स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए।

एम्बुलेन्स किन्न ११ लाख रुपैयाँ लाग्ने भएको छ। उक्त रकममध्ये झण्डै ८ लाख (७ लाख ९४ हजार ७७७) रुपैयाँ जम्मा गरी एम्बुलेन्स विक्रेतालाई पठाइसकिएको शाहले बताए। बाँकी १ लाख रकम भने दिने प्रतिबद्धता गरेका जापानमै रहेका युवाहरूबाट उठ्न बाँकी रहेको छ।

त्यो रकम पनि चाँडै उठ्ने उनले बताए।

‘पैसा आउने पक्का भइसकेको छ, हामीले १० लाख रुपैयाँ हाल्ने हो। बाँकी रहेको १ लाख र प्रक्रियामा लाग्ने केही खर्च गाउँपालिकाले नै ब्यहोर्ने कुरा भएको छ,’ शाहले भने, ‘एम्बुलेन्स खरिद गरेर लगिसकिएको छ, अब प्रक्रिया पूरा गरी चलाउन मात्र बाँकी छ।’

जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्रबहादुर शाहीले अबको केही समयमा जापानमा रहेको युवाहरूको पहलमा किनिएको एम्बुलेन्स गाउँपालिकामा आउने बताए। खरिदपछिका सबै प्रक्रिया पूरा गरी हस्तान्तरण हुने उनले बताए।

‘युवाहरूले आफ्नो मेहनतको कमाइ गाउँपालिकाको नागरिकको स्वास्थ्यको लागि भनेर लगानी गर्नुभएको छ, यो कुरालाई हामीले कदर गरेका छौं,’ उपाध्यक्ष शाहीले भने, ‘उहाँहरूले उठाएको बाहेक एक/डेढ लाख अरु लाग्छ भन्ने छ, यो पनि आउँदो आर्थिक बर्षको बजेटबाट गाउँपालिकाले नै व्यवस्थापन गर्ने कुरा छ। केही दिनमा त्यो एम्बुलेन्स हामीलाई हस्तान्तरण पनि हुन्छ।’

गाउँपालिकामा एम्बुलेन्स आएपछि आवश्यकता अनुसार निरन्तर चलाउन बाटोहरूको स्तरोन्नति गरिने उनले बताए।

एम्बुलेन्स सञ्चालनका लागि पहल गरेका शाहका अनुसार ढिलोमा जेठ २७ गतेसम्म एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तर गरिने छ।

जापानमा रहेको नेपाली ४७ जना युवाहरूले जुनीचाँदेमा एम्बुलेन्स सञ्चालनका लागि आफ्नो इच्छाअनुसार सहयोग गरेका छन्। यसको पहल गरेका शाहलगायतका केही युवाले २ लाख रुपैयाँसम्म सहयोग गरेका छन्।

गाउँपालिकाले एम्बुलेन्स सञ्चालनसम्बन्धी एउटा मापदण्ड बनाउने छ।

आपतकालीन राहत कोष स्थापना गरी एम्बुलेन्सबाट भाडावापत भएको आम्दानी रकम जम्मा गर्ने, एम्बुलेन्स सम्बन्धी भाडादर गाउँपालिकाले तोक्ने, चालकको तलब गाउँपालिकाले ब्यहोर्ने, भाडा दरअन्तर्गत आयस्रोत नभएका बिरामीलाई ५० प्रतिशत छुट दिने, एम्बुलेन्स चाहिएमा खबर गर्न कल सेन्टर स्थापना गर्ने मापदण्ड गाउँपालिकाले नै बनाउनेछ।

एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरेपछि जुनीचाँदे–५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमार्फत सञ्चालन गरिनेछ।

गाउँपालिकाको अरूभन्दा सुविधासम्पन्न उक्त स्वास्थ्य केन्द्रबाट एम्बुलेन्स सञ्चालन गरिने प्राथमिक स्वास्थ्य केन्द्रका इञ्चार्ज दलबहादुर शाहीले बताए।

‘स्थानीय युवाको सह्रानीय प्रयास छ, हामीले सम्बन्धित निकायमा आवश्यक समन्वय गर्न दुईपटक पत्र पनि लेखेका थियौं,’ इञ्चार्ज शाहीले भने, ‘अब एम्बुलेन्स तयारी अवस्थामा छ भन्ने कुरा आइसकेको छ, हामी यसलाई निरन्तरता दिनेछौं ।’

गाउँपालिकाले स्वास्थ्य केन्द्रसँगै सबै वडाहरूमा पुग्ने बाटो बाह्रै महिना चल्नेगरी स्तरोन्नति गरिदिए जापानमा बसेर युवाहरूले खेलेको भूमिकाले सार्थकता पाउने उनले बताए।

 

 

मा प्रकाशित