मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा विमान दुर्घटनामा सबै मृतकहरुको शव संकलन भएको छ । चालक दलका ३ जनासहित २२ यात्रुमध्ये १० वटा शव सोमबारै उद्धार गरी काठमाडौं पुर्याइएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरबाट सोमबार सुरक्षाकर्मीहरुद्धारा शव संकलन भएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाँकी १२ वटा शव दुर्घटनास्थलबाट तल कोवाङ बस्तीमा झारिएको छ । ‘अब मुचुल्का उठाएर सबै शव काठमाडौं पठाउने तयारी छौं,’शर्माले भने ।
‘विमान दुर्घटनामा ज्यान गुमाएका सबै यात्रुको शव संकलन भएको छ । १० वटा शव हिजै काठमाडौं पठाइयो । बाँकी १२ शव घटनास्थलबाट तल कोवाङ बस्तीमा झार्ने काम भैरहेको छ । केहीबेरमा बाँकी शवहरु काठमाडौं पठाउछौं,’ प्रजिअ अधिकारीले बताए ।
यसैबीच विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) समेत फेला पारी शवसँगै काठमाडौं पठाउन लागेको उनले जानकारी दिए ।