काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ बढ्दासमेत विभिन्न विद्यार्थी संगठनले विरोध गरिहाल्छन् । तर, अहिले एकैबाजी १० रुपैयाँ बढ्दा पनि विद्यार्थी संगठनहरु थाहै नपाए जसरी बसिरहेका छन् ।
सरकारले स्थानीय तह निर्वाचनलगत्तै पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्यो । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर रहेको बेला सरकारले अस्वाभाविक मूल्यवृद्धि गरेको छ ।
केही नेताहरुले स्थानीय निर्वाचनअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे निर्वाचनमा सत्ता गठबन्धनलाई असर पर्ने भन्दै मूल्य नबढाउन अनुरोध गरेका थिए । सरकारले पनि ती नेताहरुले भने जस्तै निर्वाचन सम्पन्न हुनासाथ पेट्रोल र डिजेलको प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले नेपालमा निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न बाध्य भएको बताए ।
उनले भने, ‘सरकार अहिले मूल्यवृद्धि नगरी पेट्रोलियम पदार्थ बिक्री गर्न सक्ने अवस्थामा थिएन । त्यसैले एकैपटक १० रुपैयाँ मूल्यवृद्धि गरिएको हो । अब नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै पेट्रोलियम पदार्थको खपत कम गर्ने योजना पनि अघि बढ्ने छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्ने हो भने हामी पेट्रोलियम पदार्थ किन्नसमेत नसक्ने अवस्थामा थियौं । अब घाटा केही कम भएको छ । विस्तारै घाटा कम गर्नेछौं ।’
स्थानीय निर्वाचन अगाडि मूल्यवृद्धि नगरी निर्वाचन सकिएपछि एकैपटक १० रुपैयाँ मूल्यवृद्धि गर्नु भयो ? अझै एकै पटक घाटा सबै सकिने गरी मूल्यवृद्धि गरेको भए सरकारलाई राम्रो हुन्थ्यो होला नि ? भन्ने गणतन्त्रनेपालको प्रश्नमा मन्त्री बडूले विस्तारै घाटा कम गर्न मूल्यवृद्धि गर्दै जाने बताए । उनले एकै पटक मूल्यवृद्धि हुँदा सर्वसाधारणलाई समस्या पर्ने र विरोध पनि हुने कारणले १० रुपैयाँमात्रै मूल्यवृद्धि गरेको जानकारी दिए ।
मन्त्री बडूका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ र डिजेलमा ३१ रुपैयाँ घाटा छ । पेट्रोलियम पदार्थमा रहेको घाटा अन्त हुने गरेर मूल्यवृद्धि हुँदै जाने उनले बताए ।
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अब नेपाल आयलको स्वायत्तता बाँकी नरहेको बताए । उनले भने, ‘अहिलेसम्म एकैपटक १० रुपैयाँ पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको थिएन । तर, अहिले एकैपटक १० रुपैयाँ मूल्यवृद्धि भएको छ । यसले नेपालको अर्थतन्त्रमा नै ठूलो असर गर्नेछ । सामान्य मूल्यवृद्धि हुँदा पनि केही असर पर्ने गरेको थियो । तर अहिले एकैपटक १० रुपैयाँ मूल्यवृद्धि भएको छ ।’