स्वास्थ्ययोद्धालाई फाैजीयोद्धाको पत्र

प्रिय साथी, स्वास्थ्यकर्मी योद्धा, हरेश नखाऊ हतास नबन । एक दिन अवश्य यो कोरोना विरुद्धको स्वास्थ्य युद्ध हामी जित्ने छौं

सन्देश क्षेत्री | काठमाडौं, २३ वैशाख ।

प्रिय साथी,
स्वास्थ्यकर्मी योद्धा
तिमीलाई
फौजी योद्धाको सलाम छ ।

सँगसँगै हो
तिमी स्वास्थ्य–सिपाहीमा भर्ती भएको
म फौजी सिपाहीमा भर्ती भएको
तिमीले सेतो बर्दी रोजेको
मैले हरियो बर्दी रोजेको
तिमीले आला, कैंची अनि औषधि रोजेको
मैले बम, बारुद अनि बन्दुक रोजेको
बाटो र तरिका फरक हो ।

आखिर उद्धेश्य एउटै थियो
देश र देशवासीको सुरक्षा गर्ने
तिमी स्वास्थ्य सुरक्षाका लागि लड्छौ
म देश अनि जनताको सुरक्षाका लागि लड्छु ।

प्रिय साथी,
एक समय
देश
बम–बारुदको युद्धमा फसेका बेला
म युद्धमा परिचालित हुँदा
तिमीले मलाई
हरेश खानु हुँदैन भनेर हौसला दिन्थ्यौ
डराउनु हुँदैन भनेर साहस दिन्थ्यौ
युद्धमोर्चामा
सहयोद्धाले वीरगति प्राप्त गर्दा
युद्धको नियम हो
देशलाई आवश्यक पर्दा
वलिदान गर्नुपर्छ भनेर उत्साह दिन्थ्यौ
र त
देशका निम्ति वलिदान गर्न
वीर योद्धाहरु पछि परेनन्

प्रिय साथी,
स्वास्थ्यकर्मी योद्धा
आज देश
स्वास्थ्य युद्धमा फसेको छ
आज विश्व कोरोना युद्धमा फसेको छ
तिमी आज स्वास्थ्य युद्धमा परिचालित छौ
स्वास्थ्य युद्धको अग्रमोर्चामा छौ
आज साराले तिमीलाई गुहारिरहेका छन्
तिमी कोरोना विरुद्धको युद्धमा लडिरहेका छौ

प्रिय साथी,
स्वास्थ्यकर्मी योद्धा
हरेश नखाऊ
हतास नबन
एक दिन अवश्य
यो कोरोना विरुद्धको स्वास्थ्य युद्ध
हामी जित्ने छौं
तिमीलाई
फौजी योद्धाको
सलाम छ ।

२३ वैशाख

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID