अविश्वासको प्रस्ताव दर्ता र एमाले सांसदको सामूहिक राजीनामा सँगसँगै

पत्रपत्रिकाबाट | काठमाडाैं, २३ वैशाख

प्रधानमन्त्री केपी ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका सांसदको राजीनामा र ओलीविरुद्ध अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ वैशाखमा विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको आँकलन गरिएकाले त्यसलाई चिर्न त्यसअअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ ।

कांग्रेस, एमाले (खनाल–नेपाल पक्ष), माओवादी केन्द्र र जसपाका नेताहरूबीच बुधबार छुट्टाछुट्टै छलफल भएको थियो । छलफलमा एमाले नेता नेपालले आफूहरू २७ गतेअघि नै सामूहिक राजीनामा दिन तयार भएको सन्देश कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका थिए भने देउवाले पनि आफ्ना प्रतिनिधिहरू पठाएर एमालेभित्रका सांसदहरूको अहिलेको स्थिति बुझेका थिए ।

‘अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने र राष्ट्रपतिसमक्ष समावेदन गर्ने गरी अघि बढौं भनेर छलफल चलाएका छौं, एमालेका साथीहरूले राजीनामा दिने कुरा गर्नुभएको छ, त्यसो हुँदा हाम्रो पक्षमा सजिलै संख्या पनि पुग्छ,’ कांग्रेससम्बद्ध स्रोतले भन्यो– ‘अविश्वासको प्रस्ताव र एमालेका सांसदहरूको राजीनामा सँगसँगै आउन सक्छ ।’

अविश्वासको प्रस्ताव दर्ता गराए त्यसमाथि छलफल गर्न प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ । नत्र प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा आउने परिणामसँगै प्रतिनिधिसभा अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने र अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने योजना बनाएको आशंका विपक्षीको छ । ‘ओलीको यो कदम रोक्नुपर्ने विषयमा हामीबीच जोडदार छलफल भइरहेको छ, निष्कर्ष निस्किएको छैन’– जसपाका एक नेताले भने ।

यसअघि ‘चुनावमै जानुपर्छ’ भन्नेमा कांग्रेस सभापति देउवाको जोड भए पनि लुम्बिनी प्रदेशको प्रकरणपछि उनी हच्किएका छन् र कम्तिमा ओलीको नेतृत्वमा चुनावमा जानुहुन्न भन्ने निष्कर्षमा पुगेका छन् । त्यसपछि नै उनले गठबन्धन सरकारबारे रुचि देखाएका हुन् । लुम्बिनी प्रदेशको प्रकरणपछि देउवा सार्वजनिक रूपमा पनि ओलीप्रति अलि धेरै आक्रोशित देखिन्छन् ।

ओलीले बुधबार मात्रै राखेको सत्ता सहकार्य र चुनावी गठबन्धनको प्रस्तावलाई देउवाले अस्वीकार गरेका छन् । बरु कांग्रेसले राष्ट्रियसभाको वाग्मती प्रदेशको उम्मेदवारमा एमालेको नेपाल पक्षले अघि सारेका संघीयताविद् खिमलाल देवकोटालाई सहयोग गर्ने निर्णय गरेको छ । यसलाई नेताहरूले रणनीतिक चालका रूपमा लिएका छन् ।

‘यही सहमतिलाई सत्ता सहकार्यसम्म लैजाने गरी सहमति जुटाएर नेताहरू उठेका हुन्,’ स्रोतले भन्यो– ‘फाइनल कुरा हुन बाँकी छ, शुक्रबारसम्म सबै टुंगो लाग्छ ।’ ओलीको उग्रता र विपक्षी गठबन्धनको सक्रियतासम्बन्धी यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID