आचारसंहिता गम्भीर उल्लंघन गर्नेलाई उम्मेदवारी खारेज गर्न आयोगको निर्देशन

गणतन्त्रनेपाल समाचारदाता, काठमाडौँ । २५ बैशाख

निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको अवस्थामा तत्काल उम्मेदवारी खारेज गर्ने अधिकारसहित निर्वाचन आयोगले अनुगमन टोली परिचालन गरेको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रले त्यस्तो अधिकार प्रयोग गर्ने गरी टोली परिचालन गरिएको बताए । ‘स्थलगतरूपमा कारबाही गर्न सक्छ । आचारसंहिता उल्लङ्घनको प्रकृति हेरेर उम्मेदवारी खारेजको हदसम्म टोली जान सक्छ’, अर्यालले भनेका छन् ।

सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको हो । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा टोली खटिएका हुन् ।

उनीहरूलाई शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई रहेको बताएका
थिए ।

उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय रूपमा सम्पन्न गर्नेबारे आग्रह–पूर्वाग्रह नराखी ऐन, कानुनअनुसार प्रभावकारी अनुगमन गर्न निर्देशन पनि दिएका थिए । टोलीले आचारसंहिताविपरीत दल र उम्मेदवारले झन्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ ।

अनाधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्देशन दिएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID